कांग्रेस अध्यक्ष राहुलको राजीनामा अस्विकृत

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ ११

भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पराजयको जिम्मेवारी लिँदै पदबाट दिएको राजीनामा पार्टी केन्द्रीय कार्यसमितिले अस्विकृत गरेको छ।

सन २०१४ को लज्जास्पद पराजयको पीडामाथि थप आघात पुग्नेगरी हालै सम्पन्न लोकसभामा पनि अनपेक्षित परिणाम आएपछि त्यसको नैतिक जिम्मेवारी लिँदै अध्यक्ष गान्धीले पार्टीकी शीर्ष नेता तथा आमा सोनिया गान्धीलाई बिहीबार साँझ राजीनामा पत्र बुझाएका थिए।

निर्वाचनको समिक्षा गर्न शनिबार नयाँ दिल्लीस्थित पार्टीृ मुख्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकका सदस्यहरुले उनको राजीनामा अस्विकार गरेको भारतीय संचारमाध्यमहरुले बताएका छन्।

यसअघिको लोकसभा निर्वाचनको परिणामबाट पार्टीलाई जोगाएर देशभरीका नेता तथा कार्र्यकर्तालार्ई राहत दिने उद्देश्यले देशभरीको निर्वाचन प्रचारमा खटिएका अध्यक्ष राहुलको सपना भारतीय जनता पार्टी र त्यसको नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीले चकनाचूर पार्दै विपक्षी दलको नेताको हैसियत समेत नपाउने स्थितिमा पुर्याइदिएका थिए।

पाँच वर्षअघि ५४२ सिटमा जम्मा ४४ सिटमा सिमित भएको कांग्रेसले यसपटक जम्मा ८ सिट बढाएपनि पुस्तौँदेखि सहजै र अत्याधिक मतअन्तरले विजयी हुँदै आएको उत्तरप्रदेशको अमिठीबाट राहुल स्वयं पराजित भएका थिए।

यो नमिठो र अनपेक्षित परिणामको जवाफदेहिता र जिम्मेवारी लिँदै राहुलले अध्यक्ष पदबाट राजीनामा दिएर राजनीतिक नैतिकता प्रदर्शन गरेपनि पार्टीले उनको राजीनामा अस्विकृत गरेपछि कांग्रेसको नेतृृत्व गान्धी परिवारबाट बाहिर नजाने अवस्था आएको छ।

बैठकमा पार्टीका शीर्ष नेताहरु सोनिया गान्धी, मनमोहन सिंह, गुलाम नबी आजाज, महासचिव प्रियंका गान्धी उपस्थित रहेको संचारमाध्यमले बताएका छन्।

पाँच महिना अघि सम्पन्न विधान सभा निर्वाचनमा मध्येप्रदेश, राजस्थान र छत्तीसगढमा उत्साहजनक परिणाम ल्याएर पार्टीको पुर्नजागरण अभियानमा लागेको कांग्रेसले लोकसभा निर्वाचनमा यी तीनवटै प्रदेशमा लज्जास्पद पराजय व्यहोरेको छ। यसका अतिरिक्त कर्नाटक विधान सभा निर्वाचनमा समेत पराजित भएपछि कांग्रेस बैठकले लोकसभा निर्वाचनसँगै विधान सभा निर्वाचनमा पनि भएको पराजयको समिक्षा गर्दै पार्टीको आगामी रणनीति तय गर्ने बताइएको छ।

यसैबीच निर्वाचनमा पराजित भएपछि उत्तरप्रदेशका अध्यक्ष राज बब्बरसहित कर्नाटक र ओडिसाका पार्टी अध्यक्षले पनि पदबाट राजीनामा दिएको संचार माध्यमले बताएका छन्।

अध्यक्ष राहुलको राजीनामा अस्किृत गरेको पार्टी केन्द्रीय हाईकमाण्डले प्रदेश अध्यक्षको विषयमा भने कुनै निर्णय लिइसकेको छैन।