आर्थिक वर्ष २०७५÷७६ मा उल्लेखनीय सुधार: अर्थमन्त्री खतिवडा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ १३

अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷७६ मा वित्तीय क्षेत्रमा उल्लेखनीय सुधार भएको दाबी गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा ‘आव २०७५÷७६ को आर्थिक सर्वेक्षण’ पेश गर्दै उहाले १८ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको, धितोपत्र बजार सुधारोन्मुख हुदै गएको, स्थानीय तहमा वाणिज्य बैंकको सङ्ख्या ७१३ पुगेकाले वित्तीय क्षेत्रमा क्रमशः सुधार हुँदै गएको दाबी गरेका हुन्।

अर्थमन्त्री डा खतिवडाले मुलुकभर बैंक तथा वित्तीय संस्थाको कूल सङ्ख्या चार हजार ७०१ पुगेको जानकारी दिदैं आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्म कूल वस्तु निर्यात १४ दशमलव छ प्रतिशतले वृद्धि भई रु ६१ अर्ब पुगेको , आयात २३ दशमलव ८ प्रतिशतले वृद्धि भई रु नौ खर्ब ४९ अर्ब पुगेको बताए।

उनले यस अवधिमा वस्तु व्यापार घाटा रु आठ खर्ब ८८ अर्ब रहेको जानकारी दिए। अर्थमन्त्री डा खतिवडाले आव २०७५÷७६ को फागुनसम्म शोधनान्तर स्थितिको घाटा रु ५९ अर्ब र चालु खाता रु एक खर्ब ९१ अर्बले घाटामा रहेको तथा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ८२ अर्ब पुगेको जानकारी दिए। यस अवधिमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ३५ दशमलव ९ प्रतिशतले घटेको उनले बताए।

मन्त्री डा खतिवडाले यस अवधिमा २१८ उद्योगमा रु ११ अर्ब लगानी प्रतिबद्धता भई थप सात हजार ९५३ रोजगारी सिर्जना हुने अनुमान गरेको बताए। यसै अवधिमा हुम्ला बाहेक सबै जिल्ला सदरमुकाममा सडक सञ्जालसँग जोडिएको जानकारी दिदैं उनले कूल सडकको लम्वाइ ३१ हजार ३९३ किलोमिटर पुगेको बताए।

अर्थमन्त्री डा खतिवडाले सन् २०१८ मा स्थल मार्गबाट भारतीय पर्यटकबाहेक ११ लाख ७३ हजार पर्यटक नेपाल भ्रमणमा आएको बताए। आर्थिक सर्वेक्षणले आर्थिक वर्ष २०७५÷७६ मा ७ प्रतिशत आर्थिक वृद्धिदर रहने प्रारम्भिक अनुमान गरेको छ भने मुद्रास्फीति दर चार दशमलव २ प्रतिशतमा रहने अनुमान गरेको छ ।