हिमाल दैनिक तेस्रो वर्षमा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

जतिबेला मुलुक संविधान निर्माण गरी संक्रमणकालको अन्त्य र दीर्घकालिन राजीतिक स्थायीत्वको जिजीबिसा लिएर अनेकन आशंकाकाबीच स्थानीय तहको निर्वाचन प्रक्रियामा होमिदै थियो, त्यहिँबेला हामीले नेपाली मिडिया जगतमा नयाँ पाइला टेक्ने कोशिश गर्‍यौं।

त्यसपछि देशले ताजा जनादेशको माध्यमबाट इतिहासमै सबैभन्दा बलियो सरकार पायो र त्यसले देश सञ्चालन गर्दै आएको पनि डेढ वर्षभन्दा बढी हुन लागिसक्यो।

संविधानले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, त्यसले प्रत्याभूत गरेको मूल्य मान्यता र सार्वभौमसत्ता सम्पन्न जनताप्रतिको दायित्व र कतव्यबोधले जुन तबरले नयाँ युगको मल्टिमिडियाको भिडमा नयाँ जोस, जाँगर र उत्साह लिएर हिमाल दैनिक डटकम (अनलाइन पत्रिका) को जन्म भयो त्यो समय दुई वर्ष पूरा भएको पत्तै भएनछ।

हिमाल दैनिक डटकम तेस्रो वर्षमा प्रवेश गरेको खबर सुनाउँन पाउँदा हामी ज्यादै हर्षित भएका छौं।

यो अवधिमा हामीले आफ्नो वैचारिक स्पष्टता र व्यवसायीक दक्षतासँगै पत्रकारिताको धर्म र कर्मको माध्यमबाट सधैं सत्य, तथ्यमा आधारित समाचार, विचार, विश्लेषण र सामाजिक र राष्ट्रिय दायित्वसँगै महत्वका विषयवस्तुसँग सम्बन्धीत सामाग्री पस्किने प्रयास गर्‍यौं।

यी दुई वर्षको हाम्रो अनुभवले नेपाल लोकतन्त्र र नेपाली समाजको उन्नतीका लागि जिम्मेवार र उत्तरदायी पत्रकारिताको अझै महत्व बढेर गएको देखाएको छ।

समय र मौसममा आएको बदलाबले अझै पनि हाम्रा कलमहरूमा खिया लाग्न सक्ने खतारा टरेको छैन। संविधानले पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेको भए पनि त्यसको व्यवहारिक परीक्षणको कसीमा मुलुकको राज्य व्यवस्था उत्रन नसकिरहेको अवस्था छ।

यस्तो अवस्थामा हामीले अझै बढी शसक्त र प्रभावकारी पत्रकारिताको माध्यमबाट यो शासन व्यवस्था र जनताको भलाइको पक्षमा उभिँदै आएका आम जनता खासगरी हामीप्रति आशा, भरोसा र विश्वास गर्ने हाम्रा समस्त पाठक महानुभावहरुको नजरमा सही मानेमा खरो उत्रनु परेको छ।

यसका निम्ति हामीलाई हाम्रा शुभचिन्तक पाठक महानुभावहरुले दिएका अमूल्य सुझाव, टिप्पणी र प्रतिक्रियाले अझै बढी ज्ञान र शक्ति मात्र प्रदान गर्ने होइन, यसले हाम्रो व्यवसायिक धर्म, नागरिकको कर्म र राष्ट्रिय मर्म बुझ्ने ताकद दिलाउनेछ।

दुई वर्षअघि, आजकै दिन आधुनिक सञ्चार प्रविधिमा आएको क्रान्तिको वरदानका रूपमा सुरू भएको हिमाल दैनिक डटकमले नेपाली सन्दर्भमा केन्द्रीत व्यवसायिक सामाग्री पस्कँदै प्रविधिको सहि उपयोग मार्फत स्वदेश र विदेशमा रहेका नेपालीलाई सूचना प्रभावको माध्यमबाट एक आपसमा नजिक ल्याउने प्रयास गरिरह्यौँ।

त्यो महान उद्देश्य प्राप्तिको दिशामा हामीले अपेक्षा गरेभन्दा कैँयन गुणा बढी सफलताका सिँढीहरु चढ्ने अवसर हामीलाई प्राप्त हुनु गौरवको कुरा हो।

यति छोटो अवधिमा पनि हिमाल दैनिक डटकम अनलाइन पत्रिका हरेक तह र तप्काका पाठकमाझ लोकप्रिय सञ्चार माध्यमका रुपमा स्थापित हुनसक्नु हाम्रा लागि सानो उपलब्धी होइन।

यो अवधिमा पाठक, शुभचिन्तक, विद्धान विश्लेषक र विज्ञापनदाताले दर्शाएको सहयोग, सदभाव र अमूल्य विश्वासले हामीलाई अझै सशक्त ढंगले अगाडि बढ्ने प्रेरणा मिलेको छ।

तेस्रो वर्ष प्रवेशको यो शुभअवसरमा हामीप्रति आशा र भरोसा र विश्वास राख्दै व्यवसायिक र मर्यादित पत्रकारिताको धर्म निर्वाह गर्दै र कर्मको मैदानमा अघि बढ्न प्रोत्साहित गर्ने समस्त महानुभावहरुप्रति हृदयदेखि नै कोटीकोटी नमन गर्न चाहन्छौं।

हामीलाई थाहा छ, अहिलेसम्मको हाम्रो कार्य र प्राप्ति पूर्ण छैन। हिमाल दैनिकलाई व्यवसायिक रुपमा अझ बलियो र प्रभावकारी संचार माध्यम बनाउन हामीले अझै धेरै लामो यात्रा पार गर्नुपर्नेछ। तर, त्यो यात्रामा व्यवसायिक सफलता प्राप्तिको मोहमा हामीले आफ्नो सामाजिक उत्तरदायित्व र मर्यादा कहिल्यै भुल्ने छैनौं।

हिमाल दैनिक अनलाइनले दुइ वर्ष पूरा गरेको अवसरमा हामी पुनः प्रतिबद्धता व्यक्त गर्दै भन्न चाहन्छौँ, ‘सत्य, तथ्यमा आधारित र व्यवसायिक पत्रकारिता गर्ने क्रममा हामी कुनै पनि अवस्थामा कसैसँग पनि सम्झौता गर्ने छैनौं। सार्वभौमसत्ता सम्पन्न राष्ट्र, राष्ट्रियता, लोकतन्त्रका मूल्य मान्यता, संविधानवाद, सामाजिक र आर्थिक रुपान्तरसँगै नागरिकको मौलिक हक अधिकार र कर्तव्यप्रति हिमाल दैनिक सदा सर्वदा किटबद्ध रहने छ।’

हाम्रो यात्रामा प्रेरणाको स्रोत र अमूल्य पूँजी भनेकै हाम्रा महान पाठक र शुभचिन्तकहरुले निरन्तर दिँदै आएका सकरात्मक र रचनात्मक प्रतिक्रियाहरु हुन्। त्यो आड भरोसाको पूँजीलाई अझ बढी खँदिलो बनाउन हामी आफ्नो दायारालाई फराकिलो र विषयवस्तुको गुणस्तरमा बृद्धि गर्दै थप संस्करणहरु विस्तार गर्ने लक्ष्य हामीले लिएका छौं।

मुलुक अहिले लामो द्धन्द्व र संक्रमणकालिन राजनीतिक पीडाबाट पार गर्दै नयाँ संविधान बमोजिम नयाँ राजनीतिक चरणमा प्रवेश गरेको छ। लोकतन्त्र र गणतन्त्र स्थापनासँगै बलियो सरकार बनेको पनि डेढ वर्ष भयो।

तर, संविधानले तय गरेको बाटो र जनताले अपेक्षा गरेको लक्ष्य प्राप्तिमा मुलुक अघि बढ्न सकिरहेको छैन।

यो लक्ष्य हाँसिल गर्ने क्रममा विधिको शासन र कानुनको पालना गरी नीतिगत अराजकताको अत्य र सुशासनको प्रत्याभूति गर्दै मुलुक विकासको बाटोमा अघि बढ्नुपर्छ भन्ने आम जनताको बुझाइ हो। राजनीतिक व्यवस्थाको स्थायीत्व, सुशासन, समृद्धिका विषयमा गम्भीर बहस हुन अझै बाँकि नै छ।

हामी आगामी दिनमा यी मुद्दाहरु निरन्तर पछ्याउँदै राज्यका सबै निकायलाई उत्तरदायी र जिम्मेवार बनाउन लागि पर्नेछौँ। हामीलाई विश्वास छ पाठकहरुले हामीलाई पनि पछ्याउँदै र घच्घचाउँदै अझ बढी सक्रिय भूमिका निर्वाह गर्न थप ऊर्जा प्रदान गर्नुहुनेछ।

हरपल ताजा खबर र विश्लेषणसहित हिमाल दैनिक सधैँ तपाइँसँगै हुनेछ।