लोकतान्त्रिक गणतन्त्र मास्न सरकार नै लागि पर्योः देउवा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ १५

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार लोकतन्त्र तथा गणतन्त्र मास्न तर्फ लागि परेको आरोप लगाएका छन्।

बुधबार गणतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेसले काठमाडौँको शान्ति बाटिकामा गरेको प्रभातफेरी कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेको देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार लोकतन्त्र र गणतन्त्रकै विपक्षमा देखिएको आक्षेप लगाए।

प्रधानमन्त्री ओलीलाई आफ्नै मन्त्रीहरुमाथि विश्वास नरहेको र त्यसले शासन व्यवस्था नै खतरामा परेको देउवाले आरोप थियो।

वर्तमान सरकारले कानुन बनाउने र संशोधन गर्ने नाममा जथाभावी विधेयकहरु ल्याएर सञ्चार जगत र मानवअधिकार आयोगमाथि नियन्त्रण गर्न लागि परेको भन्दै सरकारको संविधानप्रतिको प्रतिबद्धतामा प्रश्न पनि उठाए।

उनले सञ्चार र मानवअधिकारसँग सम्बद्ध क्षेत्रमाथिको नियन्त्रणको अर्थ लोकतन्त्र तथा गणतन्त्रमाथिकै नियन्त्रणको पूर्वतयारी रहेको उनको तर्क थियो।

देउवाले सरकारको गतिविधिले गर्दा फेरि लोकतन्त्र एवम् गणतन्त्रका लागि लड्नु पर्ने अवस्था आउन सक्ने भन्दै कार्यकर्तालाई त्यसका लागि आवश्यक परे तयार रहन निर्देशन दिए।

कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसको अगुवाईमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउने दायित्व पनि कांग्रेसकै भएको बताए।

सत्ताधारी दलका नेताहरुले संघीयता, गणतन्त्र र समाबेशीमा बिश्वास नगर्ने भएकोले प्रतिपक्षमा भए पनि प्राप्त यस्ता उपलब्धीलाई संस्थागत गर्ने मूल दायित्व कांग्रेसको भएको उनको भनाई छ।

कार्यक्रमअघि काग्रेसले प्रभातफेरीको आयोजना गरेको थियो। शान्ति बाटिकाबाट शुरु भएको प्रभातफेरी, जमल, असन, इन्द्रचोक, नयाँ सडक हुँदै रत्नपार्कमा आएर सम्पन्न भएको थियो।

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ११औं गणतन्त्र दिवसको उपलक्ष्यमा राजधानीमा तीन दिने र उपत्यकाबाहिर आज विशेष कार्यक्रमको आयोजना गरेको छ।