लोकतन्त्र र संघीयताको विरुद्ध ओली गए राजालाई झैँ हटाइन्छः देउवा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ १६

लोकतन्त्र र संघीयताको विरुद्ध प्रधानमन्त्री केपी शर्मा ओली गए त्यसलाई जनताको साथ लिएर आफ्नो पार्टीले इतिहासबाट राजतन्त्र हटाए जस्तैगरी हटाउने घोषणा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका छन्।

गणतन्त्र दिवसको सन्दर्भमा कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार आयोजना गरेको संघीयता कार्यान्वयनका चुनौति विषयक गोष्ठीलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले यस्तो घोषणा गरेका हुन्।

प्रधानमन्त्री आलीको कारण प्रजातन्त्रमाथि खतरा उत्पन्न भए त्यसविरुद्ध आन्दोलन गरेर उनलाई हटाउन पर्ने दिन आउन सक्ने तर्फ संकेत गर्दै उनले त्यसका लागि तयार रहन कार्यकर्तालाई निर्देशन पनि दिए।

‘हिँजो भागेर दिल्ली गएका राजालाई पनि कांग्रेसले फिर्ता ल्यायो तर, राजाले प्रजातन्त्र मास्ने काम गरे। जहाँ राजा र प्रजा सँगै हिड्न सक्दैनन् त्यहाँ राजा हटछ,’ भन्दै देउवाले प्रजातन्त्रका लागि राजा फ्याक्न तयार हुने कांग्रेसले ओलीको अलोकतान्त्रिक गतिविधि विरुद्ध लड्न तयार हुने पनि बताए।

नयाँ संविधानले मुलुक संघीयतामा आगडि बढिसकेको बताउँदै यसबाट पछाडि फर्कन नसकिने भन्दै अब यसलाई सफल पार्ने र जनभावना अनुकूल बनाएर अगाडि बढ्ने कुरामा ध्यान दिनु पर्ने बताए।

काठमाडौं केन्द्रीत शासन पद्धतीले देशभरीका जनतालाई विकासको प्रतिफल र न्याय दिन सकेन भन्ने मान्यताकै आधारमा मुलुक संघीयतामा गएको बताउँदै वर्तमान सरकारले यो भावना विपरित गतिविधि गरिरहेका आरोप उनले लगाए।

सरकारले बुधबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा संघीयतालाई वेवास्ता गरी अपमान गर्न खोजिएको आरोप पनि उनले लगाए।
प्रदेश मुख्यमन्त्रीहरुले नै आफूहरुले कुनै अधिकार नपाएको बताइरहेको उल्लेख गर्दै देउवाले प्रधानमन्त्री ओली प्रदेश र स्थानीय तहसम्मको सबै अधिकार केन्द्रमै केन्द्रीकृत गर्न लागि परेको बताउँदै संघीयता आत्मसाथ गरेको आफ्नो पार्टीले यसलाई सफल पार्नु दायित्व र कर्तव्य भएको बताए।

कांग्रेस उपसभापति तथा नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले गणतन्त्रको राजनीतिक र वैचारिक अगुवाई कांग्रेसले गरेको बताउँदै संघीयता लोकतन्त्रको मोडल भएको बताए।

संविधानमा राखिएका यी प्रावधान कांग्रेसकै अगुवाईमा सम्भव भएको दाबी गर्दै त्यसको कार्यान्वयनको दायित्व पनि कांग्रेसकै भएको बताए।
संघीयता र गणतन्त्र नेपाल आएपनि त्यसपति विश्वास नगर्ने प्रधानमन्त्री ओली राज्यको कार्यकारी पदमा रहेको बताउँदै कम्युनिज्म र संघीयता एक अर्काका विपरित सिद्धान्त भएको बताए।

पछिल्लो समय समाजवादी पार्टी नेपालले ११ प्रदेशको कुरा उठाएको विषयमा निधिले संघीयताको पक्षमा रहिसकेपछि त्यो अध्ययन र बहससँग सहमतिका आधारमा तय हुन सक्नेबारे आफ्नो पार्टी खुला हुने बताए।

महामन्त्री पूर्णबहादुर खड्काले संघीयता र गणतन्त्र कांग्रेसको रणनीति नभई विश्वास भएको बताउँदै त्यो विश्वासलाई दिगो बनाउन पार्टीले जागरण अभियान चलाएको बताए।

सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उनले यदि यहि गतिमा मुलुक अघि बढे देशमा जातिय, क्षेत्रीय, धार्मिक र साम्प्रदायिक द्धन्द्ध बढ्न सक्ने खतरा रहेको भन्दै यसबाट कांग्रेसले समाधान खोज्नु पर्ने बताए।

कार्यक्रममा प्राध्यापक लोकराज बरालले नेपालको हरेक राजनीतिक परिवर्तन एक पछि अर्को दिशामा जम्प गरेर अघि बढेको अवस्थामा अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र पनि कता उफ्रेर पुग्ने हो टुंगो नभएको अवस्था रहेको बताए।

उनले शासकमा भएको मानसिक अस्थिरताले जति सुकै रटान गरेपनि व्यवस्था स्थिर बनाउन नसक्ने पनि बताए।