मोदीलाई बधाई दिन फुरुङ्ग हुँदै दिल्ली गएका प्रम ओली किन ओठ बाँधेर विमानस्थलबाट बाहिरिए?

प्रधानमन्त्री ओली पत्रकारसँग केहि नबोल्नु, पूर्वमाओवादीका मन्त्री थापा बाहेक अन्य मन्त्रीका अतिरिक्त नेताहरू कोही विमानस्थलमा नदेखिनु संयोग मात्रै त होइन!

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ १७

संचारकर्मी देखेपछि जस्तोसुकै ठाउँमा पनि केहि न केहि बोल्न र प्रतिक्रिया दिन पछि नपर्ने प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई तथा शुभकामना दिएर फर्किँदा भने रहस्यमय ढंगले प्रतिक्रियाविहिन देखिएका छन्।

हालै सम्पन्न लोकसभा निर्वाचनमा अत्याधिक बहुमत प्राप्त गर्दै दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित भारतीय समकक्षी मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी भइ बधाई तथा शुभकामना दिन दिल्ली पुगेर शुक्रबार स्वदेश फर्किएका प्रधानमन्त्री ओली सम्भवत् पहिलो पटक पत्रकारसँग कुनै प्रतिक्रिया नदिई बाहिरिए।

शुक्रबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको विमानबाट ओर्लिएका प्रधानमन्त्री ओलीको स्वागतमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानएवं रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापाले लगाएतका मन्त्री तथा उच्चपदस्थ अधिकारीहरु पुगेका थिए।

नेपाली सेनाको एक टुकडीले सम्मान गारथ सलामी अर्पण गरेलगत्तै विगतको भन्दा फरक ढंगले विशिष्ट कक्षमा नपुगी र पत्रकारहरुलाई कुनै प्रतिक्रिया नै नदिई बाहिरिएपछि पत्रकारहरु अडियोविहिन भिडियो लिएर फर्किएका थिए।

मोदीलाई बधाई तथा शुभकामना दिन दिल्ली पुगेका ओलीले आजै बिहानमात्रै भारतीय प्रधानमन्त्री मोदी, राष्ट्रपति रामनाथ कोविन्द तथा विमस्टेक राष्ट्रका प्रमुख तथा सरकार प्रमुखहरुसँग भेटवार्ता गरेका थिए।

प्रम ओली र भारतीय प्रम मोदीबीच भेटवार्ता

मोदीसँगको भेटमा दुइपक्षिय हित तथा सम्बन्ध सुधारको विषयमा महत्वपूर्ण छलफल भएको प्रतिक्रिया भारतीय प्रधानमन्त्रीले दिएलगत्तै काठमाडौं आइपुगेका प्रधानमन्त्री ओलीले आफ्नोे दिल्ली यात्राको विषयदेखि पार्टीभित्रको आन्तरिक विषयमा समेत कुनै प्रतिक्रिया नदिई बाहिरिनुले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ।

एकातिर भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदीलाई बधाई दिन निस्कनै लागेको बेला पार्टीका द्धितीय अध्यक्ष पुष्पकमल दाहालले पार्टी र सत्ताको नेतृत्वको विषयमा एकाएक सार्वजनिक अभिव्यक्ति दिनु अर्कोतर्फ ओलीले त्यसबारे कुनै प्रतिक्रिया नदिनुले सत्तारुढ दलभित्रको आन्तरिक विवाद चर्किने त होइन भन्ने आशंका जन्माएको छ।

किन भने, प्रधानमन्त्री ओली स्वदेश फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार अपरान्ह पूर्व माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका मन्त्रिमण्डलका सदस्यहरुमा गृहमन्त्री रामबहादुर थापाबाहेक अरु कुनै मन्त्रीहरु उपस्थित नहुनुले पनि ओलीको मौनतामा रहस्य भरिदिएको छ।

पत्रकारसँग ओली केहि नबोल्नु, पूर्वमाओवादीका मन्त्री तथा नेता कोही विमानस्थलमा नदेखिनु संयोग मात्रै त होइन भन्ने आशंकाले सत्तारुढ दलभित्रको कलहसँग भारतीय प्रधानमन्त्री मोदीसँगको वार्ताको विषयमा पनि अनेक अड्कलबाजी सुरु भएका छन्।