विश्वभरका मुस्लिमसँगै नेपाली मुस्लिम धर्माबलम्बीले पनि मनाए इद उलफित्र

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

विश्वभरका मुस्लिम धर्माबलम्बीहरुले एकआपसमा शुभकामना आदान प्रदान गर्दै बुधबार आफ्नो महान चाड इद उलफित्र मनाएकाछन्।

अरबी पात्रो हिजरी सम्वत अनुसार दशौँ महिनाको पहिलो दिन आज मुस्लीम समूदायले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशिर्वाद लिएर इद उल फित्र पर्व मनाउने चलन छ।

अरबी पात्रो अनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय गरिने मुस्लिम समुदायले बताएकाछन्।

इदका अवसरमा विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिने तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गर्दछन्। आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन रहेको मुस्लिम धर्मालम्वीको भनाई छ।

खुशीपूर्वक गरिवलाई दान गरिने भएकाले सो पर्वलाई इद उल फित्र भनिएको हो। बुधबार नेपाली जामे मस्जिद घण्टाघरमा पनि विशेष नमाज पाठ गरि ठूलाबडाकहाँ आशीर्वाद लिएर मनाएकाछन्।
यसैगरी घण्टाघरमै रहेको काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा पनि विशेष कार्यक्रमका साथ नमाज पाठ गरिएको छ।

पर्वमा इस्लाम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ कुरानमा उल्लेख छ। यसरी दान गरिएको नगद वा जिन्सी गरिवलाई बाँडिन्छ। जसलाई जकात भनिन्छ। इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ। सो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ। सोे दान पनि गरीबलाई नै दिइन्छ। सरकारले इद उल फित्रका अवसरमा बुधबार देशभर सार्वजनिक बिदा दिएको छ।