पशुपतिनाथ मन्दिरको सम्पत्ति ९ किलो सुन, सवा अर्ब रुपैयाँ

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

पशुपतिनाथ मन्दिरको नगद सम्पत्ति एक अर्ब २९ करोड रुपैयाँ तथा ९ किलो सुन रहेको पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानविन समितिले जनाएको छ।

समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चल र अचल सम्पत्ति सार्वजनिक गर्दै उक्त जानकारी गराएको हो।

पशुपतिनाथ मन्दिरको मूल ढुकुटीमा चल सम्पत्तिका रुपमा ९ किलो २ सय ७६ ग्राम सुन देखिएको पनि समितिले जनाएको छ।

विसं २०१९ देखि २०७५ सम्मको सम्पती सार्वजनिक गर्दै समितिले मन्दिरको नाममा रहेको नगद मध्येबाट एक अर्ब अक्षय कोष निर्माणका लागि राखिएको जानकारी पनि दिएको छ।

गुठी संस्थानले मन्दिरको नाममा हुन आउने सम्पत्ति उपलब्ध नगराएको समितिले जनाएको छ।

अचल सम्पत्तिका रुपमा मन्दिरको कोष मार्फत चार स्थानमा जग्गा रहेको देखिएको छ भने पशुपतिको नाममा दर्ता भएको जग्गा ३ हजार ६६७ रोपनी चार आना तीन पैसा देखिएको छानविन समितिले जनाएको छ।

समितिले बुधबार नै पशुपति क्षेत्र विकास कोषलाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदन बुझ्दै कोषका सदस्य सचिव प्रदीप ढकालले कोषको सम्पतीलाई संरक्षण गर्न विशेष ध्यान दिने बताए। उनले पशुपति क्षेत्रको बिकासका लागि पनि गम्भीर भएर लागेको जानकारी दिए।

पशुपतिनाथको सम्पत्ति अध्ययन तथा छानबिन गर्न पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष समेत रहेका मिलनकुमार थापाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो।