बजेटमा रिजालले देखाएको गम्भिर त्रुटि अर्थमन्त्रीले सच्याए

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदमा प्रस्तुत गरेको आ.व. २०७६/०७७ को बजेटमा उल्लेखित तथ्याङ्कहरुमै गम्भिर त्रुटि भेट्टिएपछि त्यसलाई प्रतिनिधि सभाबाट पारित गर्नु अघि नै सच्याएका छन्।

जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेश गरेको सरकारको आगामी वर्षको बजेटका अनुसूचिहरुमा अर्बौँ रुपैयाँको तलमाथि हुनेगरी तथ्याङ्क देखाएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मीनेन्द्रप्रसाद रिजालले लगातार दुई दिनसम्म त्यसबार सदनमा सभामुख र अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

जेठ १९ गतेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलको छायाँ अर्थमन्त्रीका रुपमा रहेका रिजालले बजेटको अनुसूचि १ मा २०७५/०७६ को संशोधित अनुमानमा संघीय सर्वसञ्चित कोषमा दाखिला हुने राजस्वमा २२ अर्बको राजस्व ज्यादा देखिएको भन्दै त्यो सच्याउन माग गरेका थिए।

गत वर्ष सरकारले चालु खर्च ७८३ अर्ब हुने अनुमान गरेको थियो भने पूँजीगत खर्च २७३ अर्ब र वित्तिय व्यवस्था १५३ अर्ब गरी कुल १२ खर्ब ८ अर्ब बजेटको स्रोध साधन चाहिन्छ भनेको थियो।

यसरी स्रोत साधन जोहो गर्नेक्रममा राजस्वबाट ८६० अर्ब हुने र त्यसमध्ये राजस्व बाँडफाँट गर्दा १०२ अर्ब प्रदेश र स्थानीय सरकारलाई पठाउनु पर्ने जिकिर रिजालले गरेका थिए।

‘त्यो कटाएर बाँकी हुन आउने करिब ७५८ अर्ब रकम अनुसूचि १ मा उल्लेख गर्दा त्यसलाई छुट्याएर राख्नुको सट्टा जोडेर राजस्वको संघीय सर्वसञ्चिती कोषमा दाखिला हुने भन्दै ९६२ अर्बको राजस्व अनुमान गरेको भन्दै रिजालले त्रुटि पहिल्याइदिएका थिए।

विदेशी अनुदान जोडेर जम्मा ८०४ अर्बको स्रोत साधन रहने र बजेटमा ४०४ अर्ब न्यूनमध्ये सरकारले विदेशी ऋण २१० अर्ब र आन्तरिक ऋण १७२ अर्ब उठाउन संसदले सरकारलाई अनुमति दिएको थियो। तर, तथ्यांक प्रस्तुत अनुसूचिमा उल्लेखित रकममा थप २२ अर्ब न्यून हुने देखिएपछि रिजालले सरकारलाई संसदले १७२ अर्बसम्ममात्रै आन्तरिक ऋण उठाउने अधिकार दिएको छ त्यो भन्दा बढि ऋण उठाउने अधिकार नदिएको भन्दे आपत्ति जनाएका थिए।

यसरी न्यून हुन आउने २२ अर्ब थप गरेको अवस्थामा सरकारले १९४ अर्ब आन्तरिक ऋण उठाउन पर्ने परिस्थिति बन्ने बताउँदै उनले संसदले दिएको अधिकार बाहिर गएर सरकारले आन्तरिक ऋण उठाउन नपाउने भन्दै यो कसरी भयो जवाफ चाहियो भनेका थिए।

ओली सरकारका अर्थमन्त्रीको इज्जत कांग्रेस नेता रिजालले जोगाइदिए

त्यसपछि अर्थमन्त्री खतिवडाले रिजाललाई गल्ती औंल्याइदिएकोमा धन्यवाद भन्दै त्यसलाई मेसिनले जोड्नु पर्ने तथ्याङ्क हातले जोड्दा भवितव्यमा परेर त्रुटि भएको बताएका थिए।

त्यसको भोलिपल्ट पुनः नेता रिजालले अनुसूचि २ मा उल्लेखित तथ्याङ्कमा अर्को त्रुटि औंल्याउँदै सरकारले सर्वसञ्चित कोषमा दाखिला हुने भनेको राजस्वमा १११ अर्ब बढि देखिएको भन्दै आपत्ति जनाएका थिए।

वर्तमान स्रोतबाट ११ खर्ब ६७ अर्ब जम्मा हुने भनिएको थियो जसमा अगाडिको कलममा अंक जोड्नुको सट्टा घटाएर ०७६/०७७ को लक्ष्यमा ११ खर्ब १२ अर्ब राखिएको थियो।

रिजालले नयाँ संरचना परिवर्तनबाट कर थपिने हो कि राजस्व घट्ने होरु घट्ने हो भने त घटाएको मिल्यो तर, अन्यथा नयाँ परिवर्तनबाट थपिने हो भने यहाँ जोडिनु पथ्र्यो। त्यो जोडिदा १२ खर्ब २३ अर्ब हुन्छ भन्दै यसमा स्थानीय तह र प्रदेशलाई दिने रकम छुट्याउँदा १० खर्ब ९२ अर्ब हुने बताएका थिए।

सरकारले सर्वसञ्चित कोषमा दाखिला हुन्छ भनेको ९९१ अर्ब भन्दा यो १११ अर्ब बढि हो भन्दै उनले यसरी १११ अर्ब थप राजस्व परिचालन हुने हो भने हामीले आन्तरिक ऋणपनि ८३ अर्ब ८० करोड भन्दा बढि उठाउनु पर्ने परिस्थिति आउने दाबी गर्दै यो यो सामान्य त्रुटि नभएको जिकिर गरेका थिए।

अर्थमन्त्रीमाथि रिजालको व्यंग्यवाणः राजनीतिक भवितव्यको सन्त्रासमा बजेट पर्यो

यी दुबै त्रुटिहरुको विषयमा रिजालले अर्थमन्त्रीसँग प्रश्नोत्तर मार्फत जवाफ मागेपछि मन्त्री खतिवडाले त्यी दुबै अनुसूचिमा भएको त्रुटि सच्याएको जानकारी दिएका थिए।

मन्त्रीले दिएको जवाफ लगत्तै अर्थमन्त्रालयले आफ्नो वेभसाइटमा राखेको अर्थमन्त्रीको बजेट बक्तव्यको उक्त अनुसूचिहरुमा उल्लेखित तथ्याङ्क सच्याएको छ।

नेपालको संसदीय इतिहासमा सम्भवत् यसरी अर्थमन्त्रीले प्रस्तुत गरको बजेटमा यति गम्भिर त्रुटि विपक्षी दलले औंल्याइदिएपछि मन्त्रीले सच्याइएको विरलै घटना छन्।

यदि यहि विषय विपक्षी दलले उठाएपछि सामान्य अवस्थामा मन्त्रीमाथि नैतिक दबाब पर्ने गर्दछ। तर, दुई तिहाई नजिकको बहुमत प्राप्त वर्तमान सरकार र यसका मन्त्रीहरुका लागि यो भवितव्यमा परेर भएको सामान्य त्रुटि भन्दा बढि भएन।