सुदूरपश्चिको हावाहुरीमा दुई जनाको मृत्यु, ८० भन्दा बढी घाइते

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
फाेटाेः बलदेव बाेहाेराकाे फेसबुकबाट साभार
हिमाल दैनिक
काठमाडौं, जेठ २४

बिहीबार राति सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा आएको ठूलो हावाहुरीमा परी दुई जनाको ज्यान जानुका साथै ८० भन्दा बढी मानिस घाइते भएका छन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराका अनुसार हावाहुरीमा परी वीरबहादुर चौधरी र लाहानु चौधरीको मृत्यु भएको हो।

हावाहुरी आउँदा मोटरसाइकलमा सवार कैलाली गोदावरीका वीरबहादुर चौधरीको टिपरको ठक्करबाट मृत्यु भएको हो। टीकापुरका लाहानु चौधरीको पोल्ट्री फार्ममा काम गरिरहँदा हावाहुरीले पर्खाल भत्काएपछि किचिएर मृत्यु भएको हो।

हावाहुरीमा घाइते भएकाहरूको सेती अञ्चल अस्पताल, अत्तरियास्थित पद्मा अस्पताल, हसनपुरस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

घाइतेमध्ये गम्भीर दुई जनालाई थप उपचारका लागि भारत र दुई जनालाई कोहलपुर पठाइएको छ।

घाइतेको सङ्ख्या धेरै भएकाले सेती अञ्चल अस्पतालमा ठाउँ अभाव भएकाले उनीहरूलाई बरन्डामा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।

गए राति करिब सवा सात बजेबाट आधाघन्टासम्म आएको हावाहुरी कञ्चनपुरबाट सुरू भएको थियो। प्रमुख जिल्ला अधिकारी बोहोराका अनुसार हावाहुरीले कैलालीमा बढी क्षति पुर्‍याएको छ।

हावाहुरीले कारण कैलाली र कञ्चनपुरमा घर र टहराको छाना उडाएको छ।

ठाउँठाउँमा विजुलीका पोल ढल्दा कैलाली, कञ्चनपुरमा विद्युत सेवा अवरुद्ध भएको छ। धनगढीको विभिन्न ठाउँमा रुख ढलेर सडक अवरुद्ध भएको छ। स्थानीय तहसँग समन्वय गरेर क्षतिको एकिन विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

झन्डै दुई महिनाअघि बारा र पर्सा जिल्लामा विनाशकारी हावाहुरीका कारण ३० जनाभन्दा बढीको मृत्यु भएको थियो।