उपत्यकाका नेवार समुदायले यसरी मनाए सिथि नखः

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ २५

उपत्यकाका नेवार समुदायले शनिबार सिथि नखः मनाएका छन्।

यस दिन चतामरी, मास, सानो केराउ, मुगि लगायत गेडागुडिबाट बनाइने विशेष प्रकारको ६ किसिमका रोटीसहित ६ किसिमकै तरकारी चढाएर कार्तिकेय कुमार र भूमिको विशेष पूजा गरिन्छ।

सिथि नख हरेक वर्षको जेष्ठ शुक्ल षष्ठीका दिन मनाइने गरिन्छ। त्यस्तै आजका दिन नेवार समुदायले देवाली पूजाको पनि समापन गर्ने गर्दछन्।

यस्तै भक्तपूरको चासखेलमा चण्डेश्वरी देवी र गएको आइतबार महास्नान गरिएका थिमिका लोकेश्वरको पनि जात्रा हुन्छ।

सिथि नखका दिन हरेक वर्ष पानीको श्रोतलाई पुन सरसफाई गर्नु पर्दछ र आफू बसेको वातावरणलाई सरसफाई गरेमा सभ्यताको विकास हुन्छ भन्ने मान्यताका साथ पानीको श्रोत इनार, कुवाको पनि सरसफाई गरिन्छ। इनारको विशेष पूजा गरी इनार भित्र गएर सफा गरिन्छ।

सफा गरिसकेपछि चार दिनसम्म इनारबाट पानी तानिदैन, छोपेर राखिन्छ। चार दिनमा फेरि पूजा गरेर मात्र पानी लिने चलन छ। अझै पनि नेवार समुदायमा इनार सफा गर्नको लागि यही विशेष दिन पर्खिने परम्परा छ। यस पर्वसँगै १५ दिन बिराएर आउने चाडपर्वको क्रम समापन हुन्छ भने गठेमङ्गलबाट यो क्रम सुरु हुन्छ।