अधिनायकवाद उन्मुख सरकारका गतिविधिविरुद्ध एकताबद्ध हुँदै थप जागरण बढाउँः देउवा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
फाइल फाेटाे
हिमाल दैनिक
काठमाडौं, जेठ २६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवाद उन्मुख भइरहेको आरोप लगाउँदै त्यस प्रकारका गतिविधि विरुद्ध थप जागरण बढाउँदै एकतावद्ध ढंगले कार्य गर्न पार्टीका आम नेता कार्यकतामा अपिल गरेका छन्।

पार्टीले एक महिनाअघि सुरु गरेको राष्ट्रिय जागरण अभियान शनिबार सकिए लगत्तै आइतबार विज्ञप्ति जारी गर्दै संसदमा प्रमुख विपक्षी दलका नेता समेत रहेका देउवाले लोकतान्त्रिक संविधानको रक्षा र संविधानप्रति अपनत्वको दायरा विस्तार गर्दै संघीयताको सफल कार्यान्वयन गर्न गराउन दवावको प्रभावकारी भूमिका कांग्रेसले निर्वाह गर्नु पर्नेमा जोड दिएका छन्।

पहिलो चरणको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान’ले पार्टीका आम नेता कार्यकर्तामा नवीन ऊर्जा अभिवृद्धि गर्दै सम्पन्न भएको पनि उनले बताएका छन्।

वैशाख २५ गते प्रारम्भ भई जेठ २५ मा सम्पन्न भएको प्रथम चरणको अभियान समाप्त भएको भोलिपल्ट पार्टी कार्यालयबाट जारी विज्ञप्तिमा देउवाले जागरण अभियान मार्फत् यो दिशामा प्राप्त ऊर्जालाई पूँजीकृत गर्दै नेपाली कांग्रेस अघि बढ्ने विश्वास पनि व्यत्तः गरेका छन्।

साथै उनले अभियानप्रति चासो प्रकट गर्दै शुभेच्छा राख्ने स्वदेश तथा विदेशका समस्त नेपाली दिदीबहिनी दाजुभाइप्रति सम्मान समेत प्रकट गरेका छन्।

‘गाउँ–गाउँसम्म पुगेर पार्टीको विचार सम्प्रेषण गर्नु हुने सबै केन्द्रीय प्रतिनिधि साथीहरुको क्रियाशीलताको प्रशंसा गर्दै जिल्लाहरुमा कुशल नेतृत्व गर्नु हुने सबै जिल्ला सभापति र जिल्ला समितिहरु, क्षेत्र, गाउँ–नगर समितिदेखि वडा र टोलसम्मका सबै आदरणीय साथीहरुमा बधाई ज्ञापन गर्दछु,’ देउवाले विज्ञप्तिमा भनेका छन्।

जागरण अभियानका क्रममा प्राप्त विभिन्न सुझाव ग्रहण गरेर नेपाली कांग्रेसलाई सुदृढ र थप गतिशील बनाउँदै अघि बढ्ने संकल्प यो घडीमा आफूलगायत सम्पूर्ण नेता कार्यकर्ताको साझा दायित्व भएको पनि उनले बताएका छन्।

वर्तमान सरकारको गतिविधिप्रति असन्तुष्ट रहेको कांग्रेसले त्यसविरुद्ध जनचेतना अभिवृद्धि गर्दै पार्टी संगठनलाई जनतामाझ पुर्याउँन र पार्टीलाई नवजीवन दिलाउँन तीन चरणको कार्यक्रमको घोषणा गरेको छ।

जसमा पहिलो चरणको एक महिने देशव्यापी अभियान समाप्त भएको छ। कांग्रेसको पूर्वघोषित कार्यक्रम अनुसार दोस्रो चरणको अभियान भदौ २४ गतेदेखि असोज ७ र तेस्रो चरणको अभियान पुसमा गर्ने कार्यक्रम रहेको छ।