गुठी सम्बन्धी विधेयक विरुद्धको प्रदर्शनमा भएको सरकारी दमनप्रति साझा विवेकशीलको विरोध

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

सरकारले संसदमा पेश गरेको विवादस्पद गुठी सम्बन्धी विधेयकको विरोधमा माइतीघरमा उत्रिएको प्रदर्शनमा भएको सरकारी दमनको साझा विवेकशील पार्टीले भत्र्सना गरेको छ।

आइतबार उपत्यकामा रहेका विभिन्न धार्मिक संघ संस्थामा आबद्ध गुठीयार तथा सरोकारवालाहरुले सरकारी विधेयक फिर्ता लिन माग गर्दै गरेको प्रदर्शनमा प्रहरी दमन भएलगत्तै साझा विवेकशील पार्टीले विज्ञप्ति जारी गर्दै दमनको विरोध गरेको हो।

‘गुठीका जग्गा व्यवस्थापनको विषयमा भएका विवादहरु नजर अन्दाज गर्दै सरकारद्वारा चालिएका कदमहरुको साझा विवेकशील पार्टी घोर भत्सना गर्दछ,’ उक्त पार्टीका अभियान विभाग प्रमुख किशोर थापाद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

गुठीको जग्गा व्यवस्थापन, सामान्य जग्गा व्यवस्थापन जस्तो नभई यसका प्राविधिक विषय धार्मिक आस्था, सास्कृतिक सम्पदा र सामाजिक भावना संग जोडिएका संवेदनशील विषय भएको थापाले बताएका छन्।

सरकारद्वारा प्रस्तावित बिधेयकका प्रावधान बारे नागरिक तहबाट दवाब र प्रतिक्रिया हुनु स्वभाविक भएको भन्दै उनले यसै सिलसिलामा आज काठमाडौंमा गरिएको शान्तिपुर्ण विरोध प्रदर्शन माथि सरकारको निर्मम दमन र धरपकड अत्यन्तै निन्दनिय भएको बताएका छन्।

सरकारको यो कदमले सामान्य अधिकारको मान्यता अनुसार सरकारका कामकारवाही बिरुद्ध प्रदर्शन गर्न पाउने अधिकार कुण्ठित गरेको बताउँदै यस कदमले जनतामा ठूलो आघात पुगेको दाबी पनि सो पार्टीले गरेको छ।

‘तसर्थ, सरकोकारवालाहरु सँगको परामर्श पछि मात्रै सो विधयेक सम्वन्धी निर्णयमा अगाडी बढ्न साझा विवेकशील पार्टी सरकार सँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

प्रहरी हस्तक्षेपको घटनामा घाइते भएकाहरुको उपचारका लागि सरकारसँग माग गर्दछ साथै घाइतेहरुको सिघ्र स्वास्थ लाभको कामना पनि साझा विवेकशील पार्टीले गरेको छ।