मिडिया काउन्सिल विधेयकको विरूझ पत्रकार महासंघद्धारा तेस्रो चरणको आन्दोलन घोषणा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ २८

सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै आन्दोलनरत नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

मंगलबार महासंघले सरोकारवालाहरुसंग छलफल गर्दै असार ३ देखि ३० गतेसम्म तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो।

तेस्रो चरणको आन्दोलनमा प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर अभियानदेखि सिठ्ठी जुलुस र सभा गर्नेसम्मका कार्यक्रम छ।

महासंघले असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर संकलन गर्ने, ६ गते उक्त हस्ताक्षर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई पठाउने, १० गते मिडिया काउन्सिल विधेयकविरुद्ध कार्टुन प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको छ।

त्यस्तै असार १५ गते सबै जिल्ला शाखाले आफ्नो क्षेत्रबाट निर्वा्चित संघीय र प्रदेश सांसदलाई एसएमएस मार्फत सन्देश पठाएर ध्यानाकर्षण गर्ने, असार २० गते प्रेस स्वतन्त्रता सभा गर्ने, असार २५ गते दिउँसो १२ बजे लालटिन जुलुस निकाल्ने र असार ३० गते देशब्यापी सिठी जुलुस र सभा गर्ने महासचिव रमेश विष्टले बताए।

उनले सरकारले उक्त विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी रहने जानकारी दिए।

त्यस्तै महासंघका कार्यवहाक अध्यक्ष दिलिप थापा मगरले विधेयकमा राखिएका प्रावधानले सञ्चार क्षेत्रको नियमन गर्ने नभई नियन्त्रण गर्ने प्रष्ट भएको भन्दै महासंघले यसलाई फितौ लिएर सरोकारवालासँग छलफल गरेर समस्या समाधान गर्न आग्रह सरकारसँग गरेको बताए।

मिडिया काउन्सिल विधेयक नेपालको संविधानले ग्यारेन्टी गरेको प्रेस स्वतन्त्रता र यसको विश्वव्यापी मान्यताविपरित हुनेगरी ल्याइएको भन्दै महासंघले चरणवद्ध आन्दोलन गर्दै आएको छ।