सरस्वती युथ क्लबलाई पराजित गर्दै पुलिस क्वाटरफाइनल नजिक

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
काठमाडौं

नेपाल पुलिस क्लब राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको क्वाटरफाइनल नजिक पुगेको छ ।

बिहिबार भएको खेलमा सरस्वती युथ क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै पुलिस क्वाटरफाइनल नजिक पुगेको हो । एन्फा कम्प्लेक्समा पुलिसलाई जित दिलाउन सन्जु सेनले ह्याट्रिक गरे । यस्तै रबिन राई र एन्सन राईले एक एक गोल गरे । सरस्वतीले एक गोल आत्मघाती उपहार पाएको थियो । पुलिसका बिजेन राईले आत्मघाती गोल गरेका थिए ।

जितसँगै समूह ’सी’ को पुलिसले लगातार दोस्रो जित निकालेको छ । समूहको शीर्ष स्थानमा रहेको पुलिसको ६ अंक रहेको छ । लगातार दुई खेलमा हार व्यहोरेको सरस्वतीले अंक जोड्न सकेको छैन ।

एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा ’ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।