मान्छे ताकी-ताकी टाउकोमा गोली हान्ने छुट सरकारलाई छैन: खाँण

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौं

संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सांसदले उठाएका विषयलाई सरकारले गम्भीररूपमा नलिएकोप्रति आपत्ति जनाएका छन् ।

सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठक शुरु गर्ने बित्तिकै काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख महराले काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक खाँणलाई बोल्ने समय दिएका थुन ।

सांसद खाँणले शक्ति पृथकीकरण र सन्तुलनको व्यवस्था संविधानमा रहे पनि सरकार त्यसअनुरुप नचलेको, व्यवस्थापिकामा दलका प्रतिनिधिले बोलेका कुरालाई कार्यपालिकाले गम्भीरताका साथ नलिएको, सभामुखले गर्नुभएको रुलिङलाई पनि सरकारले गम्भीररूपमा नलिने घटनालाई सामान्यरूपमा लिन नसकिने बताए।

सरकार विधिको शासनका आधारमा चल्नुपर्ने उल्लेख गर्नुहुँदै उनले हालै सर्लाहीमा कुमार पौडेललाई अशक्त बनाएर हात भाँचेर गोली हानी हत्या गरिनु कानूनविपरीत रहेको बताए। “गैरकानूनी काम गरे कानूनी कारवाही गर्ने अधिकार सरकारलाई छ, तर मानव अधिकारविपरीत सरकारबाट नियन्त्रणमा लिइसकेको मानिसलाई पनि निर्मम तरिकाले हत्या भएको छ”, उनले भने ।

सर्लाहीको ईश्वरपुर नगरपालिकामा गैरकानूनीरूपमा नदी उत्खनन् भइरहेको उल्लेख गर्दै सांसद खाँणले वातावरणीय सन्तुलन बिगारिएको बताए । नदी उत्खनन् भएको स्थानमा १२ वर्षीय अमित यादव डुबेर मरेको घटनामा गृहमन्त्रीले संसद्लाई जवाफ दिनुपर्ने बताए ।

न्यायको ‘अपिल’ गर्ने स्थानीयवासीलाई समेत प्रहरीले दमन गरेको भन्दै उनले सरकारले नागरिक अधिकारको रक्षा गर्न नसकेकाले घटनाको वास्तविकताका बारेमा यथार्थ विवरण सार्वजनिक गरिनुपर्ने माग गरे ।