विषादी परिक्षण र सर्लाही घटनाको चित्तबुझ्दो जवाफ नआए सदन चल्दैनः कांग्रेस

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
फाइल फाेटाे
हिमाल दैनिक
काठमाडौं,

भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी परिक्षणको विषयमा सरकारले संसद र जनतालाई ढाँटेको तथा सर्लाहीको घटनामा प्रहरीले पक्राउ गरी विप्लव समूहका नेता मारेको विषयमा प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कडा रुपमा प्रस्तुत हुने भएको छ।

मंगलबार ११ बजेका लागि डाकिएको प्रतिनिधि सभा बैठकमा कांग्रेसले विदेशबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परिक्षणमा कसैको दबाब नआएको दाबी सरकारका प्रधानमन्त्री र मन्त्रीले गरिरहेकैबेला भारतीय दबाबको पत्र नै सार्वजनिक भएपछि सरकारले सदन र जनतालाई ढाँटेको विषयमा कडा आपत्ति जनाउँदै जवाफ माग्ने तयारी भइरहेको छ।

त्यसैगरी सर्लाहीमा दोहोरो भिडन्तको नाममा विप्लव समूहका जिल्लास्तरिय नेतालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि हत्या गरेको र सर्लाहीकै घटनामा अबैध ढुंगा, गिट्टी, बालुवा निकाल्दा बनेको खाल्डोमा एक बालक डुबेर मृत्यु भएको विषयमा स्थानीयहरुको विरोधमा गोली चलाएर अर्को एकजनाको हत्या गरेको विषयमा पनि कांग्रेसले सरकारको जवाफ माग्दैछ।

‘यी दुबै विषय लगायत समसामयिक विषयमा आपूर्ति मन्त्रीले विषादी परिक्षणको विषय र गृहमन्त्रीले शान्ति सुरक्षाको विषयमा चित्त बुझ्दो जवाफ नदिए आजको सदन चल्न सक्दैन,’ कांग्रेसका एक नेताले भने।

आजको बैठकको सुरुमा नै कांग्रेस सचेतक पुष्पा भुषालले यी विषयमा कुरा उठाउने तयारी गरिरहेकी छिन्।