गृहमन्त्री थापाले लोकतन्त्रको रक्षार्थ सर्लाहीमा गोली चलाएको भनेपछि कांग्रेसद्धारा सदनमा हंगामा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं,

सर्लाही घटनाको विषयमा गृहमन्त्री रामबहादुर थापाले लोकतन्त्रको रक्षाका लागि सुरक्षाकर्मीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको बताएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सदनमा हंगामा मच्चाएको छ।

सर्लाहीमा विप्लव समूहका कुमार पौडेलको प्रहरी झडपमा हत्या भएको तथा अमित रायको खाडलमा डुबेर भएको मृत्यको विषयमा इश्वरपुर नगरपालिकाका जनताले विरोध गर्दा प्रहरीको गोली लागी अर्को एक सर्वसाधारणको हत्या भएको विषयमा विपक्षी दलले सरकारको जवाफ माग गरेको थियो।

तर, गृहमन्त्री रामबहादुर थापाले यी घटना लोकतन्त्रको रक्षाका लागि र शान्ति सुरक्षा र आवागमन सुचारु गर्ने क्रममा भएको भनेपछि कांग्रेस र राजपा सांसदहरुले आपत्ति जनाए।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले लोकतन्त्रको रक्षाका लागि गोली चलाउँदा उनीहरुको मृत्यु भएको भन्ने भनाई घोर आपत्ति जनक भएको भन्दै उक्त घटनाको विषयमा तत्काल संसदीय छानविन समिति गठनको माग गरे।

सभामुख कृष्णबहादुर महराले गृहमन्त्रीले जवाफका क्रममा संसदीय समिति गठन भए आपत्ति नहुने भनिसकेको बताउँदै यसबारे सदनभित्र रहेका दलहरुको परामर्शपछि निर्णय लिने भन्दै सदनको कारबाही अघि बढाउन खोजे।

त्यहिबीचमा नेकपा सांसद खगराज अधिकारीले नियम विपरित विपक्षी दलले सदनमा अवरोध गरेको भनेपछि विपक्षी दलले वेल घराउ गर्दै नारावाजी गरेपछि सभामुखले १५ मीनेटका लागि बैठक स्थगित गरेका छन्।