वर्षा सुरु हुन नपाउँदै देशभरी बाढी र पहिरोको कहर: १७ जनाको ज्यान गयाे, ७ वेपत्ता

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं,

तीन दिनदेखि जारी अविरल वर्षाको कारण देशका विभिन्न भागमा गएको बाढी र पहिरोको कारण देशभर १७ जनाको मृत्यु भएको भने ७ जना बेपत्ता भएका छन्।

गृह मन्त्रालय र नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार बाढी र पहिरोमा परेर अहिलेसम्म ७ जना बेपत्ता भएका छन् भने ७ जना घाइते र ४ जनाको उद्धार गरिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार, पाँचथर, इलाम, मोरङ, सुनसरी, महोत्तरी, पर्सा र काठमाडौंमा १–१ जना गरी ७ जना बेपत्ता छन्। गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र (एनईओसी)का अनुसार बाढी र पहिरोमा परेर १३ जना घाइते भएका छन् ।

अहिलेसम्म खोटाङमा ३, काठमाडौंमा ३, काभ्रेमा २, भोजपुरमा २ तथा ललितपुर, पर्सा, महोत्तरी, रामेछाप, सिन्धुली र धादिङमा १–१ जना गरी ६ जनासहित १७ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

काठमाडौंको मुलपानीमा छिमेकी घरको पर्खाल भत्किँदा एकै परिवारका ३ जनाको ज्यान गएको छ। पर्खालमा पुरिएर मृत्यु हुनेमा कुन्दन यादव, सर्मिला यादव र निलु यादवको मृत्यु भएको महानगरीय प्रहरी बृत्त बौद्धले जनाएको छ।

यस्तै, खोटाङको खोटेहाङ गाउँपालिका– बाप्लुखामा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जनाको ज्यान गएको छ। पहिरोले बगाउँदा बाप्लुखाका ३१ वर्षीया विष्णु राईकी श्रीमतीसहित एक छोरा र एक छोरीको मृत्यु भएको हो।

घरसँगै पहिरोमा पुरिएका विष्णुको स्थानीयले उद्दार गरेपनि उनकी श्रीमती, १ छोरा र १ छोरीको भने ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। बाढी र पहिरोमा परि अहिलेसम्म १३ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सिरहामा २, सर्लाहीमा १, रौतहटमा ५, खोटाङमा १, काभ्रेमा २ र ललितपुरमा १ गरी १३ जना घाइते भएका छन्।

रौतहटको बृन्दावन नगरपालिका–१ बलरीखोरमा बागमती नदीमा आएको बाढीमा १५ जना फेसका र उनीहरुको उद्दार कार्य भइरहेको गृह मन्त्रालयले जनाएको छ।

यस्तै काठमाडौंको कलंकीस्थित ढुङ्गे अड्डाको होचो भागमा ३ जना फसेका र उनीहरुको पनि उद्दार जारी रहेको गृह मन्त्रालयले जनाएको छ। बल्खु खोलाको पानी बस्तीमा बसेको छ। पानीका कारण कलंकीमा रहेको मालपोत, प्रहरी र ट्राफिक प्रहरीको कार्यालय समेत डुबानमा परेको जनाइएको छ।