परराष्ट्रमन्त्रीसहित १४ जनाद्वारा अङ्ग दान

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
फाइल फाेटाे
काठमाडौं,

परराष्ट्रमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवाली दम्पत्तीले आफ्ना शरीरका बिभिन्न अङ्ग मृत्युपश्चात जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्नेगरी अङ्गदानको घोषणा गर्नुभएको छ ।

आज शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले अङ्गदानको घोषणा गर्नुभएको हो । ज्ञवाली दम्पत्तीले मृत्युपश्चात मिर्गौला, मुटु, फोक्सो, कलेजो र प्याङक्रियाज, सानो आन्द्रा दान दिने मञ्जुरिनाममा हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा मन्त्री ज्ञवालीले आफ्नै स्रोत साधनको सीमित रहँदाको अवस्थामा पनि बिरामीका लागि सक्दो सहयोग गर्न सरकार लागी रहेको बताउनुभयो । अब उपचारका लागि पैसा नभएर ज्यान जानुपर्ने अवस्था नरहने बताउदै उहाँले स्वास्थ्य बीमामार्फत रु एक लाखसम्मको औषधि उपचारका लागि सरकार लागिरहेको बताउनुभयो ।

कार्यक्रममा केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अङ्ग दान गर्ने कानुनी व्यवस्था रहे पनि चेतनाको अभावका कारण हुन नसकिरहेको बताउनुभयो । कानून बनेको दुई वर्षमा तीन जनाबाट मात्रै अङ्ग लिएर ६ जनालाई मिर्गौला, एकजनालाई कलेजो प्रत्यारोपण गरिएको बताउनुभयो ।

कार्यक्रममा परराष्ट्रमन्त्रीका धर्मपत्नी सरस्वती ज्ञवाली, परराष्ट्र मन्त्रालयका अधिकृत टीकाराम ज्ञवाली, भक्तपुर अस्पतालका पूर्वअध्यक्ष सुरेश न्यौपाने, वर्तमान अध्यक्ष मिलन सुवाल, मानव अङ्ग प्रत्यारोप केन्द्रका डा रविभूषण सुवाललगायत १४ जनाले पनि अङ्ग दानको घोषणा गर्नुभएको छ ।