कश्मिरको बिषयमा भारत/पाकले चाहे मध्यस्थता गर्न तयार छुः राष्ट्रपति ट्रम्प

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं,

पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भारत र पाकिस्तानबीच दशकौंदेखि चल्दै आएको कश्मिर विवादको बिषयमा छलफल भएको छ।

अमेरिका भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खान राष्ट्रपति ट्रम्पलाई भेट्न हाउस पुगेका थिए। प्रधानमन्त्री खानले अमेरिका एक शक्तिशाली राष्ट्र रहेको बताउदै, भारत र पाकिस्तानबीच विद्यमान विवाद समाधानका लागि अमेरिकालाई मध्यस्थको भूमिका खेल्न आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन्।

खानले आफु पाकिस्तानको प्रधानमन्त्री भएपछि कश्मिरलाई लिएर विगत ७० बर्षदेखि भारत र पाकिस्तानबीच चल्दै आएको द्वन्द समाप्त गर्न निकै कोशिश गरे पनि आफू त्यसमा असफल भएको स्वीकार गरे।

शक्तिशाली राष्ट्रका प्रमुख रहेका राष्ट्रपति ट्रम्पले कश्मिरको बिषयमा महत्वपूर्ण भूमिका खेल्नेमा आफु विश्वस्त रहेको खानले बताए।

जवाफमा राष्ट्रपति ट्रम्पले यदि भारत र पाकिस्तान दुबै देशले चाहेमा मात्र आफू मध्यस्थताको भूमिका खेल्न तयार रहेको बताएका थिए।

उनले यस बिषयमा भारती प्रधानमन्त्री नरेन्द्र मोदीसंग दुई हप्ता अघि नै कुरा गरिसकेको र मोदीले पनि उनलाई मध्यस्थताको भूमिका खेल्न आग्रह गरेको जानकारी दिएको समाचारमा उल्लेख छ।

कश्मिर एक सुन्दर ठाउँ रहेको बताउँदै राष्ट्रपति ट्रम्पले दुई मध्ये एक राष्ट्रले मात्र चाहेर नहुने बताउँदै यदि दुबै राष्ट्रले चाहे र दुबै देशका प्रधानमन्त्रीले औपचारिक आग्रह गरे आफू विवाद समाधानका लागि मध्यस्थकर्ताको भूमिका खेल्न तयार रहेको धारणा राखेका थिए।