शान्तिनगरस्थित तरकारी बजारको अनुगमन, सात व्यापारीमाथि कारवाही

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
फाइल फाेटाे
काठमाडौं,

काठमाडाैं उपत्यकामा तरकारीको मूल्य अस्वभाविक रुपमा बढेपछि सरकारले तरकारी बजारको अनुगमनलाई तीव्र पारेको छ । केही दिनअघि कालीमाटी र बल्खुस्थित तरकारी बजारको अनुगमन गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज बानेश्वरको शान्तिनगरस्थित तरकारी बजारको अनुगमन गरेको छ । अनुगमनका क्रममा सात वटा पसलले तरकारीको मूल्यवृद्धि गर्न सहयोग गरेको भेटिएपछि अनुगमन टोलीले कारवाही गरेको छ ।

किसान, ढुवानीकर्ता वा कृषिउपज सङ्कलन केन्द्रबाट खरिद गरिएको तरकारीको बिल, भरपाइ वा किसानलाई तिरेको रकम पुष्टी हुने कागजात नदेखाएका कारण ती पसललाई जरिवाना गरिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिनुभयो । छ वटा पसलले प्रत्येकलाई रु पाँच हजार र अर्को एउटा पसललाई रु पाँच हजार ५०० जरिवाना गरिएको विभागले जनाएको छ । अनुगमनका लागि विभागका निरीक्षण अधिकृत पवन प्याकुरेलको नेतृत्वमा तीन वटा टोली खटिइएको थियो ।

अनुगमनका क्रममा तरकारी बजारको अवस्था अत्यन्त नाजुक पाइएपछि तत्काल सुधार गर्न निर्देशन दिइएको महानिर्देशन गौचनले जानकारी दिनुभयो । तरकारीको थोक तथा खुद्रा मूल्यसूची राख्न, बिलविजक अनिवार्यरुपमा लेनदेन गर्न, दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न र तरकारी बजारको सुधारको कदम चाल्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।

यसैबीच, हरिया तरकारीको अनुगममा केन्द्रित भएको विभागले अब माछा, मासु बजारको पनि अनुगमन गर्ने भएको छ । माछा, मासुमा पनि अत्यधिक मूल्य वृद्धि गरिएको पाइएकाले अनुगमन गर्ने तयारी गरिएको विभागका महानिर्देशक गौचनले जानकारी दिनुभयो ।

राजधानीमा हरिया तरकारीको मूल्यवृद्धि भएसँगै अहिले माछा, मासुको मूल्य पनि अस्वभाविक रुपमा वृद्धि भएको छ । एक वर्षअघि एक हजारको हाराहारीमा पाइने खसीको मासुको मूल्य वृद्धि भएर अहिले करीब रु एक हजार ३५० पुगेको छ । रासस