न्यूयोर्कमा जन्म, टेलिग्राफमा पत्रकारिता गर्दै बेलायतको प्रधानमन्त्रीसम्म जोनसनको यात्रा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
लण्डन,

कन्जर्भेटिभ पार्टीका नेता बोरिस जोनसनले पार्टीको नेतृत्वका लागि भएको निर्वाचनमा मङ्गलबार विजय प्राप्त गर्नुभएको छ । नेता जोनसनको जन्म सन् १९६४ जुन १९ मा अमेरिकाको न्यूयोर्क शहरमा भएको थियो ।

सन् १९८३ मा एटन कलेजमा विद्यालयस्तरको शिक्षा प्राप्त गरी अक्सफोर्ड बालिओल कलेजबाट चारबर्ष पछि स्नातक पास गर्नुभएको थियो । सन् १९८७ देखि करिब दुई बर्ष द टाइम्स पत्रिकामा काम गर्नुभएको थियो । जोनसनले सन् १९८९ देखि १९९४ सम्म टेलिग्राफको युरोपेली संघको सम्वाददाताका रूपमा काम गर्नु भएको थियो । उहाँले सन् १९९९ देखि २००५ सम्म द स्पेक्टेटर नामक खबर पत्रिकामा काम गर्नुभयो तर सन् २००१ मा नै उहाँ लण्डन नजिकैको हेन्ली क्षेत्रबाट संसद सदस्य बन्नुभएको थियो । उहाँ सन् २००५ मा उक्त क्षेत्रबाट पुनः निर्वाचित हुनुभयो ।

सन् २००८ मा विपक्षी नेता केन लिभिङ्सटनलाई पराजित गर्दै लण्डनको नगर प्रमुख (मेयर) बन्नुभयो । उहाँ सन् २०१२ मा पनि लण्डनको मेयरका रूपमा निर्वाचित हुनुभएको थियो ।

सन् २०१५ मा अक्सब्रिज र साउथ रस्लीप क्षेत्रबाट संसदमा प्रतिनिधित्व गर्नुभयो भने सन् २०१७ मा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभयो ।

सन् २०१६ मा भएको ब्रेक्जिटको पक्षमा मतदान गरेका बेलायतीहरूलाई सक्रिय अभियानका साथ नेतृत्व गरेका उहाँले तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरूनको राजिनामा पछि भएको सरकारमा विदेशमन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो । तर प्रधानमन्त्री टरिजा मेका ब्रेक्जिटसम्बन्धी रणनीतिप्रति विमति राख्दै सन् २०१८ जुलाई ९ मा राजिनामा दिनुभयो ।

उहाँले सन् २०१९ को जुलाई २३ अर्थात् मङ्गलबार प्रधानमन्त्री मेको स्थानमा पार्टी नेताको जिम्मेवारीका लागि निर्वाचित बन्नुभएको छ । उहाँले बुधबार महारानी एलिजावेथ द्वितीयसँगको भेटघाट र औपचारिक समारोहबीच बेलायती प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने कार्यक्रम तय भएको छ । रासस/एएफपी