सहकारीले तोकिएको भन्दा बढी ब्याज लिन नपाउने

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
काठमाडौं,

मुलुकभरका सहकारीले तोकिएको भन्दा बढी ब्याज लिन नपाउने भएको छ । साउन १९ बाटै लागु हुने गरी सहकारीमा नयाँ ब्याजदर निर्धारण भएको सहकारी बिभागले जनाएको छ ।

शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै बिभागले सहकारी संस्थाहरुले अब लगानीमा (ऋणमा) अधिकतम १६ प्रतिशतसम्म ब्याज लिन पाउने जानकारी गराएको हो ।

पछिल्लो समय सहकारीले ऋणमा उच्च ब्याजदर लिने तर सो अनुपातमा निक्षेपको ब्याज नदिने गुनासो बढ्दै गएपछि ब्याजदर निर्धारण गर्नु परेको सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले जानकारी दिए । सहकारी ऐन २०७४ को दफा ५१ र सहकारी नियमावली २०७५ को नियम २३ मा तोकिएको आधार र सामान्य भार समेतको आधारमा सो ब्याजदर निर्धारण गरिएको हो ।

यो ब्याजदर लागु भएपछि विगतका निक्षेप (डिपोजिट) लाई पनि समायोजन गरी सोही अनुसार लागु गर्नुपर्ने विभागका रजिष्ट्रार पाण्डेले बताए । देशभरका सहकारीमा सन्दर्भ व्याजदर एकसाथ लागु हुने र यसको नियमन बिभागले गर्ने पाण्डेले बताए।

हाल मुलुकभर ३४ हजार ८ सय ३७ सहकारी सँस्था छन् । सहकारी विभागका रजिष्ट्रार डा. पाण्डेको संयोजकत्वमामा गठन भएको सन्दर्भ ब्याजदर निर्धारण समितिले सो ब्याजदर निर्धारण गरेको हो ।

सहकारी ऐनको १२४ मा व्यवस्था गरिएअनुसार नगरे दफा १२५ अनुसार कारबाही हुनेछ । ऐन अन्र्तगत बनेका नियमविपरीत सदस्यसँग ब्याज लिएमा, ब्याजदरको अन्तर ६ प्रतिशतभन्दा बढी कायम गरेमा ५ लाख रुपैयाँसम्म जरिवाना हुने बिभागले जनाएको छ ।