गत महिना आएको बाढीपहिरो र डुबानमा रु तीन अर्ब ५९ करोडको क्षति

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
काठमाडौं,

अत्यधिक वर्षाका कारण गत महिना आएको बाढीपहिरो र डुबानमा परी सबैभन्दा बढी प्रदेश नं. २ मा करीब रु तीन अर्ब ५९ करोडको क्षति भएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ ।

सिंहदरबारमा आइतबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणी खनालले सो विवरण प्रस्तुत गरेका हुन्। उनले प्रदेश २ का ८ जिल्लामा कृषितर्फ रु १ अर्ब ९७ करोड तथा पशुपक्षीतर्फ रु १ अर्ब ६२ करोडको क्षति भएको जानकारी दिए।

असार २६ गते र त्यसपछिको लगातार वर्षाका कारण मुलुकका कृषि तथा पशुपक्षीका क्षति विवरणको सत्य तथ्य विवरण समिति समक्ष पेश गर्न मन्त्रालयलाई निर्देशन भएपछि मन्त्री खनालले त्यसपछिको बढी क्षति प्रदेश नं १ मा भएको जानकारी दिए । उनले प्रदेश नं. १ का जिल्लामा रु ८१ करोड ५४ लाख ७२ हजार मूल्यका कुखुरा तथा चौपाया र बाली नष्ट भएको जानकारी दिए।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको साउन १३ गतेसम्म सङ्कलन भएको तथ्याङ्क विवरणमा प्रदेश नं. १ मा दुई हजार ४४६ घरधुरी प्रभावित भएका छन् । मन्त्री खनालले बैठकमा प्रदेश नं. ३, गण्डकी प्रदेश, प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट भने वर्षाका कारण पुगेको क्षतिका विवरण हालसम्म आइनसकेको जानकारी गराउनुभयो । उहाले केन्द्रबाहिर ६ वटा र केन्द्रमा १ बटा बिषादी जाच्ने प्रविधी रहेको जानकारी दिए।

मन्त्री खनालले विषादी परीक्षणबारे भारतीय दूतावासले पठाएको पत्रबारे प्रधानमन्त्रीलाई समयमा जानकारी नदिनु गल्ती भएको बताए ।