टि-२० प्रतियोगिता खेल्न नेपाललाई ओमानको निम्तो

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

नेपाली राष्ट्रिय क्रिकेट टिमलाई अक्टोबरमा ओमानमा टि-२० अन्तर्राष्ट्रिय सिरिज खेल्न ओमान क्रिकेटले निमन्त्रणा दिएको छ।

नेपाल र आयोजक ओमान सहित ५ राष्ट्र सहभागी हुने प्रतियोगिताको लागि नेपाललाई समेत निम्तो आएको छ। टि-२० प्रतियोगिता अक्टोबर-३ ( असोज १६ ) गते देखि आयोजना हुने बताईएको छ।

नेपाली राष्ट्रिय टिमका व्यवस्थापक रमन शिवाकोटीले नेपाललाई निम्तो आएको कुरा बताए। नेपाललाई टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) खेल्नु अघिनै प्रतियोगिता खेल्न निम्तो आएको हो।

नेपाल र आयोजक ओमान सहित प्रतियोगिता खेल्न ओमान क्रिकेटले आयरल्याण्ड, हंगकंग र नेदरल्याण्डलाई पनि निम्तो दिएको छ। नेपाल बाहेक अन्य ४ टोलिले ११ अक्टोबर देखि युएईमा आयोजना हुने टि-२० विश्वकप ग्लोबल छनौट खेल्नेछ। त्यसैको तयारीको लागि यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। नेपाल भने छनौटको एसिया फाइनलमा तेश्रो हुँदै छनौट हुन असफल रहेको थियो। टि-२० विश्वकप ग्लोबल छनौटको लागि युएईले हाल नेदरल्याण्डसंग ४ वटा टि-२० को सिरिज खेलीरहेको छ।

व्यवस्थापक शिवाकोटीले निम्तो आए पनि नेपालले खेल्ने या नखेल्ने बारे आईसीसीसंग अनुमतिपछि मात्र निर्णय हुने बताएका छन्।

नेपाल टि-२० विश्वकप ग्लोबल छनौटमा पुग्न असफल रह्यो

ओमान टि-२० अन्तर्राष्ट्रिय वरियतामा १८ औं स्थानमा रहेको छ। नेदरल्याण्ड १३ औं, आयरल्याण्ड १५ औं, हंगकंग १९ औं स्थानमा रहेको छ। नेपाल सबैभन्दा अघि वरियतामा ११ औं स्थानमा रहेको छ।

२०१८ डिसेम्बर को अन्तिमा आईसीसी टि-२० वरियतामा ११ देखि १६ औं स्थानमा रहेका कारण स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड, हंगकंग, ओमान र आयरल्याण्ड सिधै टि-२० विश्वकप ग्लोबल छनौट खेल्न छानिएका थिए। यता आइसिसिको प्रतिबन्धपछि जिम्बाम्बेको स्थानमा अफ्रिकी मुलुक नाइजेरियाले छनोट खेल्ने मौका पाएको छ।

नेपालले सन् २०१२, २०१३ र २०१५ मा टि-२० विश्वकप छनौट खेलेको थियो।