ग्लोबल टि-२० : सन्दिपको टोरोन्टो प्ले-अफमा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

दोश्रो चरणको अन्तिम खेलमा मोन्टरियल टाइगर्सलाई ३५ रनले पराजित गर्दै सन्दिप लामिछानेको टिम टोरोन्टो नेसनल्स ग्लोबल टि-२० लिग क्यानडाको प्ले-अफ चरण प्रवेश गरेको छ।

दोश्रो चरणको खेल सकिंदा अंकतालिकामा टोरोन्टो ६ खेलमा ३ जित र ३ हार सहित ६ अंक सहित तेश्रो स्थानमा रह्यो भने सोमपाल कामिले प्रतिनिधित्व गरेको विन्नीपेग हक्स ६ खेलमा २ जित, ३ हार र १ नतिजाविहिन अंक सहित ५ अंक सहित चौथो स्थानमा रह्यो र प्लेअफ प्रवेश गर्यो। मोन्टरियल टाइगर्स र एडमोन्टन रोयल्स भने पाँचौ र छैठौं हुँदै प्ले-अफ चरण पुग्न असफल रह्यो।

सोमपाल र सन्दिपको टिम इलिमिनेटरमा खेल्ने 

अब आज प्ले-अफ चरणको खेलहरु खेलिनेछन्। पहिलो क्वालीफायरमा ब्राम्पटन वुल्भ्सले भानकुभर नाइट्सको सामना गर्नेछ जुन खेलको विजेता फाइनल प्रवेश गर्नेछ। इलिमीनेटरमा टोरोन्टो र विन्नीपेग हक्सले खेल्नेछन् जसको विजेताले पहिलो क्वालीफायरको विजेतासंग दोश्रो क्वालीफायर खेल्नेछ जुन खेलको विजेता फाइनल प्रवेश गर्नेछ।

गर या मरको खेलमा टोरोन्टोको जित , सन्दिपको प्रदर्शन यस्तो रह्यो 

आयोजकले कन्ट्रयाक्ट अनुसार पैसा नदीएको भन्दै मोन्टरियल र टोरोन्टोको खेलाडीहरु मैदाननै जान नमान्दा २ घण्टा ढिला सुरु भएको खेलमा मोन्टरियलले टस जितेर बलिंग रोजेको थियो।

युभराज सिंह पछिल्लो खेलमा ढाडको समस्याको कारण घाइते भए पछि उनको अनुपस्थितिमा ब्याटिंग गरेको टोरोन्टोले २० ओभरमा ५ विकेट गुमाएर १८९ रनको योगफल तयार गर्यो। उसको लागि ओपनर रोडरिगो थोमसले सर्वाधिक ७० रन ( ५६ बलमा ५ चौका र ५ छक्का ) तथा हेनरिच क्लासेनले अविजित ६४ रन ( ३४ बलमा ४ चौका र ४ छक्का ) प्रहार गरे। मोन्टरियल बलर थिसारा परेराले २ तथा निखिल दत्ता, फवाद एहमद र डिल्लन हेलिगरले १/१ विकेट लिए।

१९० रनको लक्ष्य पछ्याउने क्रममा सुरुवात राम्रो गरेको मोन्टरियलले बीचको ओभर पछि लगातार विकेट गुमाउन पुग्दा १९.३ ओभरमा १५४ रनमा समेटिन पुग्यो।

१३ औं ओभरमा १०४/२ को अवस्थामा रहेको बेला मोन्टरियलको विकेट पटक सुरु भएको थियो जसपछि बाँकी ५० रन जोड्दा उसले बाँकी ८ विकेट गुमाउन पुग्यो। उसको लागि म्याथु क्रसले सर्वाधिक ३९, दिनेश चण्डीमालले ३६ रन योगदान दिए।

टोरोन्टोको बलिंगमा क्रिस ग्रिन ( ४-०-२६-३ ) र मिचेल म्याकलेनघन ( ३.३-०-२७-३ ) ले ३/३ , जेरेमी गोर्डनले २ ( ४-०-३६-२ ) तथा सन्दिप लामिछाने र सलमान नजरले १/१ विकेट लिए।

सन्दिपको बलिंग स्पेल 

सन्दिपको पहिलो ओभर – ९ रन ( ० १ ० ० ४ ४ )

खेलको पाँचौ ओभरमा बलिंग गर्न आएका सन्दिपले पहिलो ओभरमा सन्दिपले ९ रन खर्चेर विकेट विहिन रहे। ओभरमा २ पटक ( पहिलो र तेश्रो बल ) लबिडब्लु धरापमा कायल कोट्जरलाई पारे पनि दुवै बलमा अम्पायरले आउट दिन मानेका थिएनन्। रिप्लेमा हेर्दा कोट्जरको स्टम्पमा लागेको थियो। त्यसपछि सो ओभरको पाँचौ र छैठौ बलमा म्याथु क्रसले २ चौका प्रहार गरे।

सन्दिपको दोश्रो ओभर – ९ रन ( ० ६ १ १ ० १ )

३ ओभर पछि पुनः बलिंग गर्न आएका सन्दिपलाई श्रीलंकन ब्याट्सम्यान दिनेश चण्डीमालले दोश्रो बलमा छक्का प्रहार गरे। त्यसपछि भने सन्दिप सम्हालिएर ३ वटा सिंगल मात्र दिए।

सन्दिपको तेश्रो ओभर – ७ रन र १ विकेट ( ० ६ विकेट ० १ ० )

दोश्रो ओभर गरेको ८ ओभर पछि बलिंग गर्ने क्रममा सन्दिपको दोश्रो बलमा न्युजिल्याण्ड ब्याट्सम्यान कुग्गेलेजिनले छक्का प्रहर गरे। तर सन्दिपले लगत्तै बलमा विकेटको खाता खोले र ६ रन बनाएका कुग्गेलेजिनलाई पोइन्टमा क्याच आउट गराए। त्यसपछिको ३ वटा बलमा सन्दिपले मात्र १ रन खर्चिए।

३ ओभरको स्पेलमा सन्दिपले २५ रन दिएर १ विकेट हात पारे। यस क्रममा नेपाली स्पिनरले २ छक्का र २ चौका खाए भने १८ मध्ये ९ बलमा रन दिएनन्।

यस अघिको २ खेलमा पनि सन्दिपले १/१ विकेट लिएका थिए। ब्राम्पटन वुल्भ्स बिरुद्ध १ विकेट लिन ४४ रन खर्चेका सन्दिपले दोश्रो खेलमा मोन्टरियलसंग १ विकेट लिन २८ रन खर्चिएका थिए। ३ खेलमा कुल ११ ओभर बलिंग गरेका सन्दिपले ९७ रन खर्चीएका छन्। यस क्रममा उनले ३२.३३ को एभरेज र २२.० को स्ट्राइक रेटले बलिंग गरिरहेका छन् भने ८.८० रन प्रतिओभर खर्चिएका छन्।