सुपर ओभरमा जित निकाल्दै सोमपालको हक्स बन्यो च्याम्पियन

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

नेपाली अलराउण्डर सोमपाल कामी रहेको वेनिपेग हक्सले ग्लोबल टी–२० क्रिकेटको उपाधि जितेको छ । आईतबार भएको खेलमा भ्यानकुभर नाइट्सलाई सुपर ओभरको खेलमा पराजित गर्दै हक्स च्याम्पियन भएको हो । यससँगै सोमपाल कामी विदेशी फ्रेन्चाइज लिगको उपाधि जित्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

आइतबार सम्पन्न रोमान्चक फाइनल खेलमा सुपर ओभरमा भान्कुभर नाइट्सलाई पराजित गर्दै हक्स च्याम्पियन बनेको हो । सोमपालले पहिलो रोजाइमा खेल्न भने पाएनन् । हक्स च्याम्पियन बन्न सुपर ओभरमा १० रनको लक्ष्य ४ बलमा पुरा गर्यो । आन्द्रे रसेललाई क्रिस लीनने तेस्रो र चौथो बलमा लगातार चौका प्रहार गर्दै जित पक्का गरे ।

सुपर ओभरमा पहिलो ब्याटिङ गरेको नाइट्सले ९ रन जोडेको थियो । पहिलो बलमै आन्द्रे रसेलले छक्का प्रहार गरे । दोस्रो र तेस्रो बलमा एक एक रन बटुले । चौथो बलमा रसेल क्याच आउट भए । पाँचौ बलमा सोएब मलिकले १ रन जोड्दा अन्तिम बलमा रस्सि भान डर दुसेन क्याच आउट हुन पुग्दा नाइट्सले सुपर ओभरमा ९ रन मात्रै जोडेको थियो ।

त्यसअघि १ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको नाइट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९२ रन नै जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो ।

अन्तिम ओभरमा जितको लागि १७ रन चाहिएको अवस्थामा आन्द्रे रसेलले २ छक्का सहित १६ रन जोडेपछि खेलको नतिजा सुपर ओभरमा पुगेको हो । नाइट्सका लागि कप्तान सोएब मलिकले ३६ बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ६४ रनको योगदान दिए ।

त्यस्तै आन्द्रे रसेल २० बलमा ५ छक्का र ३ चौका सहित ४६ रन अविजित रहे । रस्सि भान डर दुसेन २३, ड्यानियल सम्श २१ र शाख बीन जफार २७ रनमा आउट भए । हक्सका लागि कप्तान रायद इम्रिट र पल भान मेर्करेनले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको हक्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९२ रन जोडेको थियो । यूएईका शैमन अनवारले ४५ बलमा ८ चौका र ७ छक्का सहित ९० रनको उत्कृष्ट इनिङ खेले । क्रिस लिन २१ बलमा ४ चौका र ३ छक्का सहित ३७,जेपी ड्युमिनी ३३ र हमजा तारिकले १५ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । आन्द्रे रसेलले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । अली खान र रयान पठानको नाममा समान २ विकेट रह्यो ।