ओल्ड ट्राफोर्डमा युनाइटेडको शान, लाम्पार्डको दोस्रो इनिङ्समा चेल्सी ४-० ले पराजित

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

म्यानचेष्टर युनाइटेडले प्रिमियर लिग २०१९/२० मा शानदार सुरुवात गरेको छ । मार्कुस रासफोर्डले दुई गोल गरेपछि युनाइटेडले चेल्सीलाई ४-० ले पराजित गर्दै ३ अंक जोडेको छ ।
पूर्व खेलाडी फ्रान्क लाम्पार्डको लागि भने प्रशिक्षकको रुपमा प्रिमियर लिग डेब्यु सुखद हुन सकेन ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा रासफोर्डले १८औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा युनाइटेडले उक्त अग्रता कायम राख्यो । दोस्रो हाफमा चेल्सीले खेलमा पर्कन प्रयास गरेपनि सफल हुन सकेन भने युनाइटेडले ३ गोल थप्यो ।
६५औं मिनेटमा आन्द्रेस परेइराको पासमा एन्टोनी मार्टियलले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । त्यसको दुई मिनेटपछि नै रासफोर्डले पउल पोग्वाको पासमा गोल गर्दै अग्रता तेब्बर पारे ।
यस्तै ८१औं मिनेटमा वैकल्पिक खेलाडी ड्यानिएल जेम्सले गोल गर्दै युनाइटेडको अग्रता ४-० बनाएका थिए । उनी परेइराको स्थानमा ७४औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

आइतवारै भएको खेलमा अर्को लण्डन क्लब आर्सनलले न्यूकासलललाई १-० ले पराजित गरेको थियो । यसअघि नै साविक विजेता म्यानचेष्टर सिटी र उपविजेता लिभरपुलले फराकिलो जित हात पारिसकेका छन् भने टोटनहनले पुनरागमन जित निकालेको थियो ।

नयाँ सिजनको प्रिमियर लिगमा पहिलो चरणको १० खेल सकिँदा ७ क्लबले जित हात पारेका छन् । ३ खेल भने बराबरीमा सकिएको थियो ।