मनोरोगीको वेदना तीजे गीतमा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
चिप्लेढुङ्गा,

तीज पर्व नजिकिँदै गर्दा पोखराकी अम्बिका ढकालले मनोरोगीहरुको वेदनालाई तीजे गीतमार्फत प्रस्तुत गरेकी छिन् ।

तीज गीतको मर्म विपरीतका गीतहरु बजेर रमझम बढिरहेका बेला ढकालले सामाजिक विषयवस्तुसँग जोडेर उपेक्षामा परेका मनोरोगीहरुको वेदनालाई गीतमार्फत प्रस्तुत गरेकी हुन् ।

सामाजिक विषयवस्तुमाथि साहित्यिक कलम चलाउँदै आएकी ढकालले सामाजिक परिवर्तन र सचेतनाका लागि गीत सङ्गीतको भूमिका महत्वपूर्ण हुने बताईन । मानसिक रुपमा अस्वस्थ भई खुला आकाशमुनि जीवन बिताउन बाध्य भएका महिलाको दयनीय अवस्थालाई म्युजिक भिडियोमार्फत उजागर गर्न खोजिएको छ ।

विभिन्न प्रतिकूल परिस्थिति र घरेलु हिंसाले मानसिक सन्तुलन गुमाउन पुगेका महिलाप्रति गरिने हेय दृष्टिलाई बदल्नुपर्ने र असहायलाई सहारा दिएर उपचार गर्नुपर्ने विषयलाई म्युजिक भिडियोले समेटेको छ । मनोरोगीहरुको मानव अधिकारलाई राज्यस्तरबाटै सम्बोधन गर्नुपर्ने विषय गीतले समेटेको स्रष्टा ढकालले बताईन ।

“तीज पर्व खाने लाउने मात्र नभई गीत सङ्गीतको पर्व पनि हो । तीजको महिमा विशेषगरी सङ्गीतसँग जोडिएको छ”, ढकालले भनिन् , “परापूर्वकालमा दबाएर राखिएका आवाजहरु तीजमा गीतको माध्यमबाट दिदीबहिनीले पोख्थे र मन हलुका बनाउँथे ।” सासूबुहारीका रोदनका कथाहरु हुन्थे । अब समय बदलिएको छ । अब सशक्तीकरण र महिला अधिकार, हिंसाविरुद्धका आवाजलाई बाहिर ल्याउनुपर्छ, सामाजिक न्याय र समानताका लागि आवाज उठाउनुपर्ने उनले बताईन ।

उक्त म्युजिक भिडियोको सदाबहार नायिकाको उपाधि पाएकी करिश्मा मानन्धरले लोकार्पण गरेकी थिइन् । पोखरा आसापासका सडकमा छायाङ्कन गरिएको उक्त म्युजिक भिडियोमा कलाकार प्रसुना भण्डारी, अमृता अधिकारी, अम्बिका ढकाल, सरीता पँगेनी, रेनु थापा, तेजेन्द्र पौडेल, कृष्ण भट्टराई लगायतले अभिनय गरेका छन् । रासस