सुगौली र १९५० को सन्धिका दस्तावेजको पनि छैनन् भने के राष्ट्रियता र देशभक्तिको कुरा गर्नु? खड्का

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं,

नेपाली कांग्रेसका नेता नारायण खड्काले १८१५ को सुगौली सन्धि र १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धि लगायतका महत्वपूर्ण दस्तावेज समेत संरक्षण गर्न नसक्नुले राज्यको गैरजिम्मेवारीपूर्ण चरित्र उदांगिएको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै कांग्रेस सांसद खड्काले उक्त दस्तावेजहरुको तत्काल खोजी गरी कहाँ कुन अवस्थामा छन् त्यसबारे सरकारको ध्यानाकर्षण गराउन सभामुखसमक्ष आग्रह पनि गरेका छन्।

गत साता राष्ट्रिय सभा अन्तर्गत प्रत्यायोजित अधिकार र सरकारी आश्वासन समितिको सम्बन्धित मन्त्रीहरुले हाम्रो सार्वभौमिकता र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको र ऐतिहासिक महत्व राख्ने १८१५ को सुगौली सन्धि, १९५० को शान्ति तथा मैत्री सन्धि लगायत सीमा सन्धिहरु र अन्य महत्वपूर्ण दस्तावेजहरु हराएर प्राप्त नभएको जानकारी दिएको भन्दै उनले उक्त कुरा अत्यन्त दुःखद भएको बताए।

‘यो दुःखदमात्र होइन, अत्यन्त गम्भीर र संवेदनशील विषय हो। यस्ता महत्वपूर्ण दस्तावेजहरु हामीले संरक्षण गर्न नसक्नुले हाम्रो राष्ट्रिय चरित्र कति गैरजिम्मेवारी रहेछ? हाम्रो राष्ट्रियता, देशभक्ति कति कमजोर रहेछ भन्ने कुरालाई नंग्याएको छ,’ खड्काले भने।

आफूले बोलेका विषयमा सरकार र सरोकारवाला मन्त्रीहरुले वास्ता नगर्न सक्ने बताउँदै उनले भने, ‘सभामुखजीले सम्बन्धित मन्त्रीजीहरुलाई यी दस्तावेजहरु कहाँ छन् र त्यीनको अवस्था के छ तत्काल खोजी गर्ने व्यवस्था मिलाइदिन आग्रह गर्छु।’