हेटौँडा सिमेन्ट उद्योगको घाटा रु साढे तीन करोड

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
चुरियामाई,

सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग आठ दिन बन्द हुँदा रु तीन करोड ८४ लाख घाटा भएको छ । उद्योग प्रशासनका अनुसार एकदिन उद्योग बन्द हुँदा रु ४८ लाख घाटा हुने गरेको छ ।

भट्टीको फायर ब्रिक्स् खसेपछि आठ दिनसम्म उद्योग बन्द हुँदा सो रकम बराबरको घाटा भएको हो । मर्मतपछि उद्योग पुनः सञ्चालनमा आएको छ । किल ब्रिक्स् लाइनिङको काम सकिएपछि शुक्रबारबाट भट्टी तताउन शुरु गरिएको र विस्तारै उत्पादन शुरु भएको उद्योगका नायब महाप्रबन्धक कामेश्वर मण्डलले जानकारी दिए । करीब रु २० लाखको लगानीमा फायर ब्रिक्स लाइनिङ गरिएको उद्योगले जनाएको छ । एउटा ब्रिक्स्को तौल साढे १० किलोको हुने उद्योगले जनाएको छ ।

उद्योगमा यसपटक दुई हजार छ सय वटा ब्रिक्स लाइनिङ गरिएको मण्डलले बताए । एउटा ब्रिक्सकै मूल्य रु ७०० पर्ने बताइएको छ । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उद्योगले हाल दैनिक औसत आठ हजार बोरा मात्र सिमेन्ट उत्पादन गरिरहेको छ । करीब ३१ लाख बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उद्योगले गत आर्थिक वर्षमा २० लाख बोरा मात्र सिमेन्ट उत्पादन गर्न सकेको उद्योगका प्रशासन महाशाखा प्रमुख गणेश कोइरालाले जानकारी दिए ।

विभिन्न समयमा उद्योग बन्द हुँदा आव २०७४÷७५ को तुलनामा झण्डै आठ लाख बोरा सिमेन्ट उत्पादन घटेको उद्योगले जनाएको छ । उद्योगको यन्त्रमा पटक पटक खराबी आएर उद्योग बन्द हुँदा उत्पादनमा पनि ह्रास आएको प्रशासन महाशाखा प्रमुख कोइरालाले बताए । धेरै यन्त्रहरु अघिल्लो आवमा बनाइएकाले चालू आवमा भने उत्पादन बढ्न सक्ने कोइरालाको अनुमान छ ।रासस