गत वर्षकै हाराहारीमा रोपाइँ

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौं,

झण्डै एक साता ढिलो गरी मौसम प्रणाली भित्रिए पनि यस वर्ष गत वर्षकै हाराहारीमा रोपाइँ सम्पन्न भएको छ । यही आइतबारसम्म ९४.४३ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ ।

गत वर्षको तुलनामा यस वर्ष ०.९६ प्रतिशतले रोपाइँमा कमी आएको छ । गत वर्ष सोही अवधिमा ९५.३९ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको थियो ।

यस्तै आइतबारसम्म प्रदेश नं १ मा ९३.४९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । प्रदेश १ मा गत वर्ष ९४.४४ प्रतिशत रोपाइँ भएको थियो । मुख्य धान क्षेत्र मानिएको प्रदेश नं २ मा गत वर्षको तुलनामा झिनो मात्रामा रोपाइँ बढेको छ । प्रदेश नं २ मा गत वर्ष ९३.१७ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९३.३१ प्रतिशत रोपाइँ भएको केन्द्रले जनाएको छ ।

प्रदेश नं ३ मा पनि गत वर्षको तुलनामा रोपाइँ बढेको छ । गत वर्ष ९४.२२ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९६.९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गण्डकी प्रदेशमा भने रोपाइँ घटेको छ । सो प्रदेशमा गत वर्ष ९६.८७ प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष झण्डै आठ प्रतिशतले रोपाइँ खुम्चिएको छ । आइतबारसम्म गण्डकी प्रदेशमा ८८.९२ प्रतिशत मात्र रोपाइँ भएको छ ।

यसैगरी प्रदेश नं ५ र कर्णाली प्रदेशमा क्रमशः ९४.३९ र ९६.१६ प्रतिशत रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ । गत वर्ष ती प्रदेशमा क्रमशः ९६.१९ र ९८.३९ प्रतिशत रोपाइँ भएको थियो । सुदूरपश्चिम प्रदेशमा भने गत वर्षकै बराबर अर्थात् १०० प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।

पूर्व क्षेत्रका तुलनामा पश्चिमी क्षेत्रमा रोपाइँ बढी भएको केन्द्रले जनाएको छ । प्रदेश नं १, २ र ३ मा बढी वर्षा हुने अनुमान गरिए पनि पश्चिमी प्रदेशमा बढ्ता वर्षा भएको मौसम पूर्वानुमान विभागले जनाएको छ ।

पश्चिमी भेकमा वर्षा बढेकाले रोपाइँको प्रतिशत बढेको हो । विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलले पूर्वी क्षेत्रको तुलनामा पश्चिमी क्षेत्रमा बढी वर्षा भएको बताए ।

गत वर्षको तुलनामा यस वर्ष मनसुन केही ढिला शुरु भएको थियो । नियमित अवस्थामा जुन १० तारिखबाट नेपालमा मनसुन भित्रिनुपर्नेमा यस वर्ष झण्डै एक साता ढिला मनसुन प्रणालीको विकास भएको विभागले जनाएको छ ।

“यस वर्ष भारी वर्षा नभई औसत वर्षा भएको पाइएको छ”, वरिष्ठ मौसमविद् पौडेलले भने, “समग्रमा मुलुकभर यस वर्ष एक हजार ५०० मिलिमिटर वर्षा भएको छ ।”

कूल १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमा रोपाइँ गर्न सकिने भए पनि यस वर्ष १२ लाख ९५ हजार २८२ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ । सिँचाइ प्रणालीको भरपर्दो व्यवस्था नहुँदा अधिकांश क्षेत्रका किसान आकाशे पानीको भर पर्न बाध्य छन् । रासस