केन्द्रीय कारागारमा ‘भिडियो कन्फरेन्स हल’

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौं,

मुलुकको सबैभन्दा पुरानो कारागारको रुपमा रहेको केन्द्रीय कारागारमा ‘भिडियो कन्फरेन्स हल’ निर्माण भएको छ । कारागारभित्र रहेका कैदीबन्दीलाई अदालतमा उपस्थित नै नगराई भिडियो कन्फरेन्समार्फत वकीलले वयान लिन पाउने गरी कन्फरेन्स हल निर्माण गरिएको हो ।

केन्द्रीय कारागारका कारागार प्रमुख लक्ष्मीप्रसाद सापकोटाले भिडियो कन्फरेन्सिङ सेवाको शुरुआतसँगै सम्बन्धित कैदीबन्दीले कारागारभित्रबाटै अदालतमा भिडियोमार्फत वकिलसमक्ष बयान दिन पाउने जानकारी दिनुभयो । “सबै अदालतमा उक्त सेवा शुरु भएपछि कारागारभित्र रहेको भिडियो कन्फरेन्स सेवाको सुरुआत हुन्छ”, उहाँले भन्नुभयो ।

सबै कारागारमा सिसी क्यामरा र विद्युतीय हाजिरको शुरुआत गरेको कारागार व्यवस्थापन विभागले केन्द्रीय कारागार, डिल्लीबजार, नख्खु, महोत्तरी, झुम्का सुनसरी, सङ्खुवासभा, तुल्सीपुर, रामेछाप र इलाम कारागारमा भिडियो कन्फरेन्सिङ सेवा जडान गरेको हो । विभागका सूचना अधिकारी वासुदेव घिमिरेले सबै कारागारमा भिडियो कन्फरेन्स सेवा जडान गर्ने विभागको योजना रहेको बताउनुभयो ।

विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागारमा हाल तीन हजार १२९ कैदीबन्दी रहेका छन् । उक्त कारागारभित्र केन्द्र, भद्र र महिला जेल रहेका छन् । केन्द्रमा एक हजार ९१०, भद्रमा ८३२, महिला जेलमा ३७८ र चार नाबालक रहेको कारागार प्रमुख सापकोटाले जानकारी दिनुभयो । रासस