‘यातायात मजदूरले अनिवार्यरूपमा पोशाक लगाउनुपर्ने’

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

यातायात क्षेत्रमा कार्यरत मजदूरहरुले अनिवार्यरुपमा पोशाक लगाउनुपर्ने भएको छ ।

अखिल नेपाल यातायात मजदूर सङ्घ कलङ्की–बल्खुले शनिबार आयोजना गरेको यात्रुमैत्री व्यवहार तथा सवारी दुर्घटना न्यूनीकरण अन्तक्र्रिया कार्यक्रममा यातायात मजदूरले पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने बताइएको हो ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नमूना यातायात निर्माणका लागि पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने बताए।

‘परिचयपत्र र पोशाक लगाएसँगै यात्रुले यातायात मजदूरलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ’, उनले भने। परिचयपत्र र पोशाक लगाएसँगै यातायात मजदूरको जिम्मेवारी बढ्ने उनको भनाइ थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले उपत्यकालगायत देशभरको सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि परिचयपत्र र पोशाकले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

पोशाक र परिचयपत्रको शुरुआतसँगै यात्रुले कसलाई बसभाडा बुझाउने वा बसको सम्बन्धित व्यक्ति को हो भन्ने अन्योलता हट्ने बताए। काठमाडौँ महानगरपालिका–१४ का अध्यक्ष शोभा सापकोटाले पोशाक र परिचयपत्रको शुरुआतसँगै सार्वजनिक बसबाट यात्रुहरु ठगिने क्रममा कमी आउने बताए।

मजदूर सङ्घका अध्यक्ष नरबहादुर रानामगरले यातायात क्षेत्रको सुधारका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।