चिनियाँ पेस्तोल बोकी लुट्धन्दा मच्चाउने समूहलाई पक्राउ

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
काठमाडौं,

अवैध हतियार चिनियाँ पेस्तोल बोकी लुट्धन्दा मच्चाउने समूहलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंले दुई वटा चिनियाँ पेस्तोलसहित पक्राउ परेका आठ जनालाई सार्वजनिक गरेको हो ।

शनिबार प्रहरीले यस समूहका सात जनालाई दुई वटा चिनियाँ पेस्तोलसहित नियन्त्रणमा लिएको थियो भने एक व्यक्ति आइतबार पक्राउ गरेका हुन् । उनीहरुलाई माछापोखरीबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामा कुशल अधिकारी, रामबहादुर तामाङ, धर्मराज तामाङ, युवराज भण्डारी, योर्सङ घले, विजय तामाङ, पिटर तामाङ र राजन तामाङ रहेका छन् ।

पक्राउ परेकाहरुको साथमा रहेको चिनियाँ पेस्तोल प्रहरीले प्रयोग गर्ने पेस्तोल जस्तै देखिएको प्रहरीले जनाएको छ । ती पेस्तोल प्रहरीबाटै जनयुद्धताका लुटिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । यद्यपि यसबारे थप अनुसन्धानपछि मात्र खुल्ने महानगरीय प्रहरी परिसरका एसपी अशोक सिंहले बताए। पक्राउ परेको समूहले नेपाल प्रहरीकै शैलीको कपाल बनाएर प्रहरी भन्दै घर रेकी गर्ने र व्यवसायी लुट्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको उनले बताए ।

पक्राउ परेकामध्ये पाँच जना माछापोखरीस्थित ’हाइ रेस्टुरेन्ट एन्ड डान्स बार’का सञ्चालक भएको प्रहरीले जनाएको छ । उनीहरुले कतिपय ठाउँमा डान्स बारको आडमा लुटधन्दा मच्चाएको देखिएको प्रहरीले जनाएको छ । लुटपाट समूहले आइतबार नै बौद्धको घर लुट्ने योजनासमेत बनाएको खुलेको प्रहरीले जनाएको छ ।