उत्कृष्ट नतिजा ल्याउने स्कुल र क्याम्पस पुरस्कृत

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
काठमाडौं,

४०औंँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा सरकारले उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय र क्याम्पसहरुलाई पुरस्कृत गरेको छ ।

दिवसका अवसरमा शिक्षा मन्त्रालयले आइतबार काठमाडौमा आयोजना गरेको बिशेष कार्यक्रममाबीच देशभरबाट छानिएका १८ वटा उत्कृष्ट विद्यालय र क्याम्पसलाई सम्मान गरेको हो । कक्षा १२ सम्मको माध्यमिक शिक्षा, सामुदायिक विद्यालयतर्फ कास्कीको अमरसिंह माध्यमिक विद्यालय पहिलो, मोरङको सुकुना माध्यामिक विद्यालय दोस्रो र पर्वतको भवानी विद्यापीठ माध्यामिक विद्यालय तेस्रो भएका छन् ।

यस्तै संस्थागत विद्यालयतर्फ एसओएस हर्मन माइनर माध्यामिक विद्यालय कास्की, नेपाल पुलिस स्कुल काभ्रेपलाञ्चोक र काठमाडौको सेन्ट जेभियर्स कलेजलाई पुरस्कृत गरिएको छ । यस्तै माध्यामिक कक्षा १० सम्मका सामुदायिक विद्यालयहरुमा मेधा माध्यामिक विद्यालय भक्तपुर, गुल्मीको रेसुङ्गा माध्यामिक विद्यालय र काठमाडौंको तरुण माध्यामिक विद्यालय पुरस्कृत भएका छन् ।

स्थागततर्फ काठमाडौंको रिलायन्स इन्टरनेशनल एकेडेमी, काभ्रेको नेपाल पुलिस स्कुल र काठमाडौंको भ्याली इंग्लिस स्कुल पुरस्कृत भएका हुन् । पुरस्कृत हुने विद्यालयमध्ये प्रथमलाई तीन लाख, द्वितीयलाई २ लाख र तृतीय हुनेलाई १ लाख रकम प्रदान गरिएको छ । उत्कृष्ट क्याम्पसतर्फ ललितपुरको पुल्चोक क्याम्पस, सिरहाको जेएस मुरारका बहुमुखी क्याम्पस र काठमाडौंको बर्नहार्ट कलेजलाई जनही २ लाख ५० हजार रकमसहित पुरस्कृत गरियो ।

कार्यक्रममा उत्कृष्ट शैक्षिक संस्थाहरुलाई पुरस्कृत गर्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले बढ्दो बेरोजगारीको समस्या समाधान गर्न प्राविधिक शिक्षामा लगानी बढाउनु पर्ने धारणा राखे । उनले परिवर्तित अवस्थामा शिक्षा गुणस्तरबृद्धिका लागी शिक्षा प्रणालीलाई परिमार्जित गर्दै अघि बढाउनुपर्ने बताए ।

त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यस आर्थिक बर्षभित्र साक्षर जिल्लाको संख्या कम्तीमा ७० पु¥याइने बताए । हाल ५१ जिल्ला साक्षर घोषणा भईसकेको भन्दै मन्त्री पोखरेलले यसै बर्ष साक्षर नेपाल घोषणा गर्ने बताए ।

कार्यक्रममा युनेस्को नेपाल र नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा र मानव स्रोत विकास केन्द्रसँगको सहकार्यमा फोटोपत्रकार क्लबले आयोजना गरेको नेपाल (बहुभाषिक परिवेशमा साक्षरता अभिवृद्धि) फोटो प्रतियोगितामा विजेता भएका फोटोपत्रकार वीरगञ्जका पंकज श्रेष्ठलाई पुरस्कार प्रदान गरिएको थियो । यस बर्ष “हामी सबैको प्रण–सार्वजनिक शिक्षा प्रणालीको सवलिकरण” भन्ने नाराका साथ दिवस मनाईएको हो । नेपालमा हाल सम्म ५१ वटा पुर्ण साक्षर जिल्ला घोषित भइसकेको छ ।