बेनी–जोमसोम सडक पहिरोका कारण अवरुद्ध

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक पहिरोका कारण अवरुद्ध भएको छ ।

सडकखण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–४, घोप्टेभीरमा पुन पहिरो खस्दा आइतबार दिउँसोदेखि बेनी–जोमसोम सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

घोप्टेभीरमा कालीगण्डकी नदीले तलबाट कटान गर्ने र सडकभन्दा माथिबाट पहिरो खसेर बेनी–जोमसोम सडकखण्ड अवरुद्ध बनेको मुस्ताङका प्रहरी नायव उपरीक्षक (डीएसपी) तुलबहादुर कार्कीले जानकारी दिए।

उनले अवरुद्ध सडक खुलाउनका लागि प्रयास भइरहेको बताए।

अवरुद्ध बेनी–जोमसोम सडक खुल्न केही दिनको समय लाग्न सक्ने प्रहरीले अनुमान गरेको छ ।

सडकखण्ड अवरुद्ध हुँदा हिमाली जिल्ला मुस्ताङसँग सीधा यातायात सम्पर्कविच्छेद भएको छ।

सडक अवरुद्ध बनेपछि मुस्ताङ भ्रमणमा निस्किएका स्वदेशी तथा विदेशी पर्यटकहरु, प्रसिद्ध मुक्तिनाथ मन्दिर दर्शन र कागबेनी तीर्थयात्रामा निस्किएका धार्मिक पर्यटक, सर्वसाधारण, उद्योगी, व्यापारी र कर्मचारीले सास्ती भोगिरहेका छन् ।