अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

तिलागुफा नगरपालिकाका–७ टाकुल्ला कालीकोटस्थित अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन भएको छ ।

शुक्रबार राति आएको बाढीले शनिबारदेखि कालीकोट खण्डको उक्त राजमार्ग अवरुद्ध भएको थियो । आइतबार सडक डिभिजन कार्यालय जुम्ला र कालीकोटबाट आएको जेसिबीले दिनभरि बाटो निर्माण गरेपछि बेलुका ६ बजे सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए।

राजमार्ग अवरुद्ध भएपछि शनिबारदेखि अलपत्र परेका यात्रुले खान, बस्न र खानेपानी पाउन निकै गाह्रो भएको यात्रु रमाकान्त न्यौपानेले बताए।

सडक सञ्चालन भएपछि आइतबार बेलुका यात्रु आ–आफ्नो गन्तव्यस्थलतिर लागेका थिए । शुक्रबार रातिको सो बाढीले टाकुल्लाको विद्युत्गृह, धानबालीमा समेत क्षति पुर्‍याएको स्थानीय लालकौरा शाहीले दुखेसो पोखे।

निर्माणाधीन टाकुल्लाको पुलमा पनि क्षति पुगेको छ भने त्यहाँस्थित घर पनि उच्च जोखिममा रहेको छ । उक्त राजमार्ग ३६ घण्टा अवरुद्ध भएको थियो ।