शहीदका सपना पूरा गरिने

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
कास्की,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गण्डकी प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डेले जनयुद्ध तथा जनआन्दोलनका शहीदले देखाएको बाटो पार्टीले अवलम्बन गरेकाले तिनका सपना पूरा गरिने बताए ।

जनयुद्धका शहीदद्वय सुरेश वाग्ले र भीमसेन पोखरेलको २०औँ स्मृति दिवसका अवसरमा राष्ट्रिय युवा सङ्घ कास्की शाखाले आज आयोजना गरेको रक्तदान कार्यक्रम शुभारम्भ गर्दै उनले पार्टी एकीकरणका बाँकी काम छिट्टै सम्पन्न गरेर सरकार र पार्टीका कामलाई प्रभावकारी बनाइने उनको भनाइ थियोे ।

वर्तमान सरकारले लिएको ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई कार्यान्वयन गरिने प्रतिबद्धता जनाउँदै उनले नेकपाको नेतृत्वमा रहेका तीनै तहका सरकारले यो नारा साकार बनाउने गरी कार्य गरिरहेको बताए ।

पार्टीका जिल्ला इन्चार्ज राजकाजी गुरुङले पार्टीले निर्वाचनका बेला सार्वजनिक गरेको घोषणापत्र र जनतामा गरेको प्रतिबद्धता पाँच वर्षभित्रै पूरा गरिने उल्लेख गरे।

युवा सङ्घका नेताहरु विष्णु पुन, भोजराज पौडेललगायतले युवा सङ्घलाई समग्र युवाको नेतृत्व गर्ने गरी अघि बढाइने बताउनुभयो । कार्यक्रममा १५१ पिन्ट रगत सङ्कलन भएको थियो ।