एनसेललाई पुँजीगत लाभकरमा छुट दिने फैसलाप्रति सत्तारुढ सांसदकै आपत्ति

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
काठमाडौं,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले एनसेलको लाभकरसम्बन्धी मुद्दाको फैसलाप्रति आपत्ती जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले एनसेललाई पुँजीगत लाभकरमा छुट दिने गरी मुद्दाको फैसलाको आदेशको छानबिन गर्नुपर्ने माग गरेका हुन् । उनीहरुले राजश्व असुलीका सम्बन्धमा न्यायालयले गरेको आदेश क्षेत्राधिकार बाहिरको भएको जिकिरसमेत गरे । बैठकमा नेकपा सांसद खगराज अधिकारीले एनसेलको लाभकर कुनैपनि अवस्थामा असुली हुनुपर्ने धारणा राखे । उनले एनसेलको लाभांश नेपाली जनाताले पाउनुपर्ने माग गरे । अधिकारीले भ्रष्टाचारको अन्त्य गर्दै गरीबी निवारणका लागि सरकार र प्रतिपक्ष दललागयत सम्पूर्ण राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताए ।

बैठकको शून्य समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद मोहन बानियाँले संविधान र कानुनको रक्षा गर्ने दायित्व बोकेको सर्वोच्च अदालत नै कानुनको भक्षक भएको आरोप लगाए। बैठकको विशेष समयमा नेपाली काङ्ग्रेसका प्रदीप गिरीले बिपी कोइराला समाजवादका प्रवत्र्तक रहेको धारणा व्यक्त गरे । उनले बिपीको समाजवादको अवधारणालाई आत्मसात् गर्न सरकारको ध्यानाकर्षण गरे ।

विशेष समयमा सांसदले पछिल्लो समयमा किशोरी र महिलामाथि तेजाब आक्रमणका घटना बढ्दै गएकाले त्यसबारे विस्तृत अध्ययन गरेर समाधान खोज्न सरकारसँग माग गरेका थिए ।