भ्रष्टाचारमा बागलुङ पाँचौँ स्थानमा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

गण्डकी प्रदेशका ११ जिल्लामध्ये बागलुङ भ्रष्टाचार हुने जिल्लाको सूचीमा पाँचौँ स्थानमा देखिएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा बागलुङ भ्रष्टाचार हुने पाँचौं जिल्लाका रुपमा सूचीकृत भएको हो ।

बढी भ्रष्टाचार हुने जिल्लाको सूचीमा कास्की पहिलो, छिमेकी जिल्ला पर्वत दोस्रो, तनहुँ तेस्रो र स्याङ्जा चौथो स्थानमा छन् । बागलुङमा मात्रै ४९ उजुरी दर्ता भएको थियो । जसमा २६ फछ्र्यौट भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षत्रीय कार्यालय पोखराका सूचना अधिकारी मेघनाथ रिजालले बताए।

बागलुङपछि क्रमशः लमजुङ, म्याग्दी, गोरखा, मुस्ताङ, नवलपुर र मनाङ छन् । पहिलो स्थानमा रहेको कास्कीमा मात्रै गत वर्ष ४२७ भ्रष्टाचारका उजुरी परेका थिए । प्रदेशभर कूल ८३२ उजुरी दर्ता भएकामा ५४५ उजुरी फछ्र्यौट भइसकेका आयोगले जनाएको छ ।

जिल्लामा भ्रष्टाचारजन्य गतिविधि भएको भन्दै परेको उजुरीमा स्थानीय सरकार, भौतिक पूर्वाधार, विद्यालय, नदीजन्य वस्तुको निकासी तथा जथाभावी दोहन, दोहोरो–तेहोरो भुक्तानी र बिनाकाम भुक्तानी गर्ने, घर नक्सा तथा बाटो, अन्य सिफारिसमा अनियमितता गरेको, करारमा कर्मचारी नियुक्ति गर्दा अनियमितता गरेको, जथाभावी भत्ता सुविधा लिने गरेकोलगायत उजुरी कार्यालयमा परेका छन् ।

सूचना अधिकारी रिजालका अनुसार उपभोक्ता समिति गठन प्रक्रियामा आफू अनुकूल व्यक्ति छनोट गरेको, सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको, राजश्व छली तथा नियमित बैंक दाखिला नगर्ने र योजना स्वार्थ प्रेरित तरिकाले फेर्ने गरेको उजुरी आयोगमा परेको छ ।

भौतिक पूर्वाधारतर्फ आर्थिक वर्षको अन्त्यमा काम गर्ने, बढी सामान खरीद गर्ने, लागत स्टिमेट तयारी बदनियतपूर्ण तरिकाले गर्ने, नक्कली बिल भर्पाइ बनाई भुक्तानी दिने तथा ठेकेदार र प्राविधिकसँग अवाञ्छित गतिविधि गर्ने र हिस्सेदारी खोज्नेजस्ता विषयमा आयोगमा उजुरी परेको जनाइएको छ ।

शिक्षा, स्वास्थ्यतर्फ भवन निर्माण, शौचालय निर्माण, नक्कली प्रमाणपत्र, विद्यालयको जग्गा बेचबिखनलगायतका उजुरी आयोगमा परेका छन् ।