साल्ट ट्रेडिङको वार्षिकोत्सवमा मन्त्री यादवले भनेः नून विक्री वितरणको जिम्मा अरुलाई दिन्नौँ

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं,

राज्य र जनताको सहकार्यमा जनहितको लक्ष्य लिएर स्थापना गरिएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफ्नो स्थापनाको ५६औं वर्ष पार गर्दै ५७औं वार्षिकोत्सव मनाएको छ।

राजधानीस्थित कर्पोरेशनको मुख्यालयमा शुक्रबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले साल्ट ट्रडिङ कर्पोरेशननको माध्यमबाट राज्यले बजार व्यवस्थित गर्नमात्र नभई सहुलियत दरमा आम उपभोक्तालाई नून, चिनी, पिठो जस्ता दैनिक उपभोग्य वस्तु उपलब्ध गराएको बताए।

आजभन्दा ५६ वर्ष अगाडि देशभरका जनतामा व्याप्त गलगाँड र कण्ठसम्बन्धी रोगको दीर्घकालिन उपचारका लागि आयोडिन युक्त नूनको विक्री वितरण गर्ने मुख्य ध्येयले स्थापित संस्थाले पछिल्लो समय नूनको अतिरिक्त, चिनी, ग्याँस र पिठोको सर्वसुलभ व्यापार तथा सहुलियत दरमा ढुवानी गर्दै आएको छ।

तर, पछिल्लो समय नूनको बजारमा रहेको एकाधिकार तोड्दै निजी क्षेत्रलाई दिने सरकारी तयारीबारे कर्पोरेशनभित्र र बाहिरबाट आवाज आएपछि मन्त्री यादव र मन्त्रालयका सविच वैकुण्ठ अर्याल तथा सहसचिव नवराज ढकालले त्यस्तो तयारीबारे केही नभएको बताए।

तर, मन्त्री यादवले घुमाउरो पाराले कर्पोरेशनबाहेक अरु संस्थालाई पनि नून आपूर्ति तथा वितरणको अधिकार दिनेबारे सरकारी योजना रहेको संकेत दिँदै भने, ‘अहिलेसम्म निजी क्षेत्रलाई नून विक्री वितरणको अधिकार दिने कुरा भएको छैन। तर, अर्पझट आपत, विपद परेमा अन्य संस्थाबाट पनि ल्याउन सकिन्छ भन्ने कुरा भएको हो।’

.दशैं, तिहार, छठ लगायतका विभिन्न पर्वहरुको पूर्वसन्ध्यामा कर्पोरेशनले देशका ७३ जिल्लामा भदौ २३ गतेदेखि सहुलियत मूल्यको पसल संचालनमा ल्याएको छ। उक्त पसलहरुको कारण बजार मूल्यमा सकारात्मक असर परेको भन्दै मन्त्री यादवले मनपरी मूल्य बृद्धि गर्न र कृतिृम अभाव श्रजना गर्न सरकारले छुट नदिने प्रण गरे।

कार्यक्रममा सरकारको कामकारबाहीबारे पत्रपत्रिकामा आएका समाचारहरुबाट आक्रोसित बनेका मन्त्री यादवले भने, ‘काला बजार, व्यापारी, तस्करीहरुले देश लुटेर चलाएका पत्रपत्रिकाले फेरि पनि देश र जनतालाई लट्ने वातावरण बनाउन भ्रमपूर्ण समाचारहरु प्रवाह गरिरहेका छन्।’

कार्यक्रममा उपभोक्ता मञ्च नेपालका प्रेमलाल महर्जनले जनताको गलगाँडको उपचारका लागि साल्ट ट्रेडिङले आयोडिनयुक्त नून जनतालाई उपलब्ध गराएजस्तै देशको गलगाँडका रुपमा रहेको भ्रष्टाचार निर्मूल पार्न सरकारको ध्यानाकर्षण गराए।

साथै उनले कर्पोरेशनले गर्दै आएको नून विक्री वितरण निजी क्षेत्रलाई दिएको दिन सरकारले यो देशबाट जनता मरे भनि सोचे हुने चेतावनी पनि दिए।

कार्यक्रममा कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले संस्थानले आम जनताको हितका लागि दैनिक उपभोग्य वस्तुको सहुलियत दरमा विक्री वितरण गर्नेदेखि खाद्यन्न आयातमा देखिएको असन्तुलन घटाउन कृषिजन्य उत्पादनका सामाग्री तथा मल बीउ सर्वसुलभ उपलब्ध गराउने कार्यमा लागि परेको बताइन्।

उक्त कार्यक्रममा उत्कृष्ट कर्मचारीले संस्थानमा पुर्याएको योगदानदेखि उनीहरुका बालबालिकाहरुले अध्ययनमा हाँसिल गरेको सफलताका आधारमा पुरस्कृत गरिएको थियो।