‘संवैधानिक कर्मबाट संविधानको पालना गरौँ’

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
कास्की,

गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले संवैधानिक सोच, आचरण र कर्मका माध्यमबाट संविधान पालना गर्नुपर्नेमा जोड दिएका छन् । संविधान दिवसका अवसरमा प्रदेश सरकारले आज आयोजना गरेको संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उनले कुनै पनि संविधान आफैँमा उत्कृष्ट र निकृष्ट नहुने भन्दै कार्यान्वयन महत्वपूर्ण रहेको भनाइ राखे ।

संविधानको सुरक्षा गर्न सकेमात्र संविधानले जनताको सुरक्षा गर्ने बताउँदै उनले भने, “विधिमाथि मानिसले प्रहार गरेको खण्डमा राज्य असफलतातिर जान्छ, राष्ट्रमा अराजकता छायो भने राष्ट्रको अन्त्यसमेत हुनसक्छ, कानून र विधिमाथि खेलवाड गरेर कसैको प्रगति सम्भव छैन ।”

यसका सवल पक्षका बारेमा सबैले जानकारी राख्नुपर्ने बताए । संविधानले राज्य शक्तिका स्रोत जनता हुन् भनेर व्याख्या गरेको उल्लेख गर्दै उहाँले पहिलोपटक संविधानमा सार्वभौम र राजकीय शक्ति जनतामा निहीत रहेको बताए ।

प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले संविधानमा सबै वर्ग, जाति, क्षेत्र र लिङ्गका अधिकार र पहिचानलाई स्थापित गरेकाले असमानतालाई समानतामा बदलेर मौलिक हक सुनिश्चित गर्दै संविधान कार्यान्वयन गर्नुपर्ने बताए। उच्च अदालत पोखराका न्यायाधीश यज्ञप्रसाद बस्यालले मुलुकी संहिताको कार्यान्वयनमा सङ्घ, प्रदेश र स्थानीय तीनै सरकार लाग्नुपर्ने बताए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले समारोहमा सहभागीलाई स्वागत गर्दै आजको दिन नेपाली इतिहासमा महत्वपूर्ण रहेको बताउँदै संविधान दिवसलाई सफल बनाउनुपर्नेमा जोड दिए । समारोहअघि शहीदचोकबाट शुरु भएको प्रभातफेरी राष्ट्र बैंकचोक, रत्नचोक, सिर्जनाचोक, सभागृहचोक हुँदै पोखरा सभागृहमा आयोजित समारोहमा परिणत भएको थियो । प्रभातफेरीमा मुख्यमन्त्री, मन्त्रीहरु, राष्ट्रसेवक कर्मचारी, तीनवटै सुरक्षा निकाय, सामाजिक सङ्घसंस्था, विद्यार्थी, खेलाडी, विभिन्न जातिगत समाज, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।