सिंगापुरले टेष्ट राष्ट्र जिम्बावेलाई हरायो

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

एजेन्सी – त्रिकोणात्मक सिरिजमा घरेलु टोली सिंगापुरले टेष्ट टोली जिम्बावेलाई ४ रनले हराउँदै ऐतिहासिक जित हात पारेको छ ।

टस जितेर ब्याटिङ थालेको सिंगापुरले १८ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । वर्षाको कारण खेल १८ ओभरमा झारिएको थियो । टिम डेविड र विकेटकीपर मनप्रित सिंहले समान ४१ रन जोडे । डेविडले २४ बलमा २ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यस्तै ओपनर रोनह रंगराजनले ३९,सुरेन्द्रन चन्द्रमोहन २३ र जनक प्रकाशले १० रन जोडे । जिम्बावेका रेयान बर्लले ३ र रिचर्ड नगराभाले २ विकेट लिए ।

१ सय ८२ रनको लक्ष्य पछ्याएको जिम्बावे १८ ओभरमा ७ विकेट गुमाउँदै १ सय ७७ रन बनायो । उसका लागि ओपनर रिजेश चकवाले १९ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ४८ रन जोडे । कप्तान सन विलियम्सले ३५ बलमा समान ५ चौका र छक्काका साथ ६६ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन् । हारका बाबजुद विलियम्स म्यान अफ द म्यान चुनिए । तिनोटेन्डा मुताम्बोडजीले ३२ रन जोडे । सिंगापुरका कप्तान अज्जाद महबुब र जनक प्रकाशले समान २ विकेट लिए ।

पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले सिंगापुरलाई ९ विकेटले हराएको थियो । नेपालले मंगलबार जिम्बावे र बुधबार सिंगापुरसँग खेल्नेछ ।  सबै टोलीको समान २-२ अंक भएपनि नेपाल रनरेटका आधारमा शीर्षस्थानमा छ ‌।

अक्टोबर १८ देखी नोभेम्बर २ सम्म यूएईमा चल्ने विश्वकप छनोट अघि सिंगापुरले त्रिकोणात्मक सिरिज आयोजना गरेको हो ।