पन्ध्र वर्षपछि प्रतिगन्ध उपन्यासका साथ सरुभक्त

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
पाेखरा,

साहित्यमा उपन्यासबाट उचाइमा रहनुभएका साहित्यकार सरुभक्तले १५ वर्षपछि सातौँ उपन्यास प्रतिगन्ध लिएर पाठक समक्ष आउनुभएको छ । २०६१ सालमा अमेरिका भ्रमणमा पुग्दा नेपालीले भोगिरहेका विविध पक्षहरु नियालिरहँदा उत्पन्न अनेक अनुभूतिको समिश्रणलाई उतार्न अठोट लिएर उहाँ फर्कनुभएको थियो ।

अमेरिकामा बसेका नेपालीले भोगेको भोगाइको साझा चित्रणलाई सरुभक्तले १५ वर्षपछि प्रतिगन्ध उपन्यासमा सार्वजनिक गर्नुभएको हो । लामो समय पछि आउनुको कारणबारे आफैँ प्रष्टाउँदै उहाँले भन्नुभयो, “म त्यस्तो जाँगरिलो लेखक होइन । मलाई बढी अल्छी मान्न जाँगर चल्छ । जुन बेला अल्छी मान्ने जाँगर चल्दैन । त्यो बेला लेख्छु ।” प्रतिगन्ध भिन्न डायस्पोराको कथा भएको उहाँले बताउनुभयो ।

सरुभक्तले आफूले यसअघिका किताब त्यति धेरै सम्पादन गर्ने नगरेको भन्दै यसलाई निर्ममतापूर्वक सम्पादन गरेको अनुभव सुनाउनुभयो । उहाँले यसका २५० पृष्ठ हटाएको भन्दै झण्डै झण्डै एउटा उपन्यास नै हटाएको बताउनुभयो । प्रत्येक लेखक आफैँ एक सम्पादक भएको बताउँदै लेखकले आफ्नो कृतिलाई राम्ररी सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले लामो व्याख्या र वर्णन गर्ने अहिलेसम्मको प्रयोगलाई भत्काएर नयाँ स्वाद दिएको बताउनुभयो ।

पोखराको पुरानो वाङ्मयी संस्था पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा पछिल्लो पुस्ताका चर्चित युवा आख्यानकाहरु गनेस पौडेल, सरस्वती प्रतीक्षा र तीर्थ गुरुङले संयुक्तरुपमा प्रतिगन्धको आइतबार लोकापर्ण गर्नुभएको हो ।
कार्यक्रममा कवि तीर्थ श्रेष्ठले सरुभक्त जीवन्त लेखाइमा सफल भएको बताउनुभयो । फरक दृष्टकोणबाट लेखकीय प्रस्तुतिनै उहाँको विशेषता भएको भन्दै श्रेष्ठले लेखकीय दृष्टिकोण नै निकै गजबको भएको अनुभव सुनाउनुभयो ।

नथिया कि लेखक सरस्वती प्रतीक्षाले प्रतिगन्धको शक्तिले उपन्यास पढ्ने पाठकलाई फरक स्वाद दिन सफल भएको बताउनुभयो । एउटै उपन्यासभित्र चार÷पाँच वटा उपन्यास पढेजस्तै लाग्ने यसभित्र विदेशिने युवाको जीवन्त कथा भएको बताउनुभयो ।

आख्यानकार गनेसले प्रतिगन्ध अमेरिकाकै कुनै लेखकले लेखेको कथाजस्तो लाग्ने बताउनुभयो । भारतीय, ब्रिटिस, हङकङ लाहुरे हुँदै विस्फोटक रुपमा फेरिएको लाहुरेको परिभाषा र त्यसैअनुरुप अमेरिका पुगेकाको कथा प्रतिगन्धमा रहेको छ । पाठशाला उपन्यासका लेखक गुरुङले प्रतिगन्धमा अमेरिकी लाहुरेहरुको मार्मिक कथा भएको बताउनुभयो ।

सरभक्तको पागल बस्ती उपन्यासको नयाँ प्रयोगले उहाँलाई मदन पुरस्कारसमेत दिलाएको थियो भने उहाँका अभिमन्यु, तरुनी खेती, बाल उपन्यास अँध्यारो कोठा, समय त्रासदी र चुली उपान्यास प्रकाशित भइसकेका छन् उहाँको प्रतिगन्ध साताँै उपन्यास हो । उहाँका विभिन्न विधामा झण्डै ५० कृति प्रकाशित छन् । रासस