राष्ट्रपति भण्डारीद्धारा दरबारका पुराेहित र आमासँग दशैंको टिका ग्रहण (फाेटाे फिचरसहित)

प्रम ओली लगायत उच्चपदस्थ पदाधिकारीले पनि लगाए भण्डारीसँग दशैंकाे टिका

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं,

सनातन हिन्दु परम्परा र वैदिक विधिपूर्वक राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको टीका ग्रहण गरेकी छिन्।

असोज २१ गते टिकाको शुभसाइत अनुसार राष्ट्रपति भण्डारीले मंगलबार बिहान १० बजेर ३५ मिनेटमा हनुमान ढोका दरबार र राष्ट्रपति कार्यालयका पुरोहितबाट नवदुर्गा भवानीको टीका, जमरा र प्रसाद ग्रहण गरिन्।

शास्त्रोक्त विधिपूर्वक प्रतिपदाका दिनदेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा–अर्चना तथा सप्तसती पाठ गरिएको हनुमानढोका दसैंघरबाट पूर्ण कलशको जल, जमरा, तिलक र रक्षासूत्र हनुमान ढोकाका पुजारीले लगेर लगाइदिए।

स्वस्तिवाचनसहित मूल पुरोहित र अन्य पुरोहितहरुले आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी स्थापना गरिएको पूर्ण कलशको जलले राष्ट्रपति भण्डारीलाई अभिषेक समेत गरिएको थियो।

राष्ट्रपति भण्डारीले मूल पुरोहित, राष्ट्रपति कार्यालयका पुरोहित र अन्य ब्राह्मणलाई टीका, जमरा र दक्षिणा प्रदान गरिन्।

त्यसअघि, राष्ट्रपतिले दीप, कलश र गणेशको पूजा समेत गरेकी थिइन्।

त्यसपछि राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेको हातबाट टीका, जमरा र प्रसाद ग्रहण गरेपछि शीतल निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र उनकी श्रीमती राधिका शाक्यलाई दशैंको टीका, जमरा र माला लगाइदिएकी थिइन्।

प्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख लगायत उच्च पदस्थ पदाधिकारी र कर्मचारीका लागि अपरान्ह १ बजेदेखि समय तय गरिएको थियो। राष्ट्रपति भण्डारीले ओली पत्नी शाक्य, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलसहित अन्य मन्त्रीहरु, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत उच्च पदस्थ व्यक्तिलाई पनि टिका तथा जमरा लगाइदिइन्।

राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मंगलबार राष्ट्रपति कार्यालयमा आफन्तबाट टीका ग्रहण गर्दै । तस्वीर ः रत्न श्रेष्ठ ।
राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङ्गलबार राष्ट्रपति कार्यालयमा आफन्तबाट टीका ग्रहण गर्नुहुँदै । तस्वीर ः रत्न श्रेष्ठ ।
विजया दशमीका दिन सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति कार्यालयमा हनुमानढोकाका मूल पूजारीलाई टीकालगाई दिँदै । तस्वीर ः रत्न श्रेष्ठ
राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका ग्रहण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर ः चन्द्रकला क्षेत्री
राष्ट्रपति विद्यादेवी भण्डारीबाट जमरा ग्रहण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर ः चन्द्रकला क्षेत्री
राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका र जमरा ग्रहण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य । तस्वीर ः चन्द्रकला क्षेत्री
राष्ट्रपति विद्यादेवी भण्डारी विजयादशमीका दिन मङ्गलबार राष्ट्रपति निवासमा प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबरालाई टीका लगाई दिनुहुँदै । तस्वीर ः नवीन पौडेल
राष्ट्रपति विद्यादेवी भण्डारी विजयादशमीका दिन मङ्गलबार राष्ट्रपति निवासमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई टीका लगाई दिनुहुँदै । तस्वीर ः नवीन पौडेल
काठमाडौँ, २१ असोज (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङ्गलबार राष्ट्रपति निवासमा नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेललाई टीका लगाई दिनुहुँदै । तस्वीर ः नवीन
राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङ्गलबार राष्ट्रपति निवासमा संकृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईलाई टीका लगाई दिनुहुँदै । तस्वीर ः नवीन पौडेल
राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङ्गलबार राष्ट्रपति निवासमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई टीका लगाई दिनुहुँदै । तस्वीर ः नवीन पौडेल
राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मंगलबार राष्ट्रपति कार्यालयमा आफन्तलाई टीका तथा फूल प्रसाद प्रदान गर्दै । तस्वीर ः रत्न श्रेष्ठ