महरालाई थप तीन दिन थुनामा राख्ने

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
काठमाडौँ,

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डौले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाण्डौका न्यायाधीश दिपककुमार दाहालको इजलासले यसअघिको १० दिन र अहिले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोपमा गएको १९ गते सरकारी निवासबाटै महरालाई प्रहरीले पक्राउ गरेको थियो । दशैँका बेला पक्राउ परेका महरालाई अदालतको नियमित काम सुरु भएसँगै मंगलबार म्याद थपका लागि अदालत लगिएको थियो ।

आफूमाथि बलात्कार प्रयास भएको भन्दै महानगरीय प्रहरी वृत्त वानेश्वरमा पीडित महिलाले किटानी जाहेरी दिएपछि प्रहरीले निवर्तमान सभामुख महरालाई पक्राउ गरेको थियो ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएका महराको स्वास्थ्य खराब भएपछि नर्भिक अस्पतालको क्याबिनमा राखेर उपचार भइरहेको छ । प्रहरीले म्याद थपका लागि अस्पतालबाटै महरालाई जिल्ला अदालत काठमाण्डौ लगेको थियो ।

महराले आफूलाई जबर्जस्ती गरेको भन्दै महिलाको भिडियो सार्वजनिक भएपछि सभामुख पदबाट राजीनामा दिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सुझाव दिएको थियो । त्यसलगत्तै महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।