एमसीसी ५ विकेटले पराजित

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

नेपाल भ्रमणमा रहेको विश्व क्रिकेटको सबैभन्दा पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको एकदिवसीय क्रिकेटमा नेपालले जित निकालेको छ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले एमसीसीलाई ५ विकेटले पराजित गरेको हो । एमसीसीले दिएको २ सय २ रनको लक्ष्य नेपालले ३७ ओभर ३ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा विनोद भण्डारीले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पवन सर्राफ ३८ रनमा अविजित रहे । खराब सुरुवात गरेको नेपालले मात्र १८ रन जोड्दा २ विकेट गुमाएको थियो । तर, तेस्रो विकेटका लागि शरद भेषवाकर र दिपेन्द्र सिंह ऐरीले ६७ रनको साझेदारी गर्दै नेपाललाई उकासेका थिए । शरद २४ रनमा आउट हुँदा दिपेन्द्रले २३ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल १० रनमा आउट हुँदा आरिफ शेखले २३ तथा इशान पाण्डेले ४ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९ ओभर २ बलमा अलआउट हुँदै २ सय १ रन बनाएको थियो । एमसीसीका विल रोड्स र विलि गोडलम्यानले अर्धशतकीय इनिङ्स खेले । रोड्सले ५४ रन जोड्दा गोडलम्यानले ५२ रन बनाए । यस्तै विल भेन्डेस्पर ३६ तथा क्यालम ज्याक्सन र एलेक्स थोमसनले समान ११ रन बनाए । नेपालका पवन सर्राफ र ललित नारायण राजवंशीले समान ४–४ विकेट लिए । करण केसी र अविनास बोहराको नाममा १–१ विकेट रह्यो ।अब नेपालले एमसीसीसँग तीन दिवसीय खेल खेल्नेछ । तीन दिवसीय बुधबार सुरु हुनेछ ।

यसअघि आइतबार एमसीसीले नेपाली यू–१९ टोलीलाई ३८ रनले पराजित गरेको थियो । नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएका हुन् ।