विगतमा हासिल गरेको जीत यसपाली पनि सुनिश्चित गरौँ: नेता अधिकारी

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
पोखरा,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश सहइञ्चार्ज एवं पूर्वमन्त्री खगराज अधिकारीले वर्तमान सरकारले गरेका उपलब्धिलाई जनतासमक्ष पु-याउनुपर्ने बताएका छन् ।

मङ्सिर १४ गते कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि पार्टीका तर्फबाट विद्या भट्टराईको उम्मेदवारी दर्तापछि आयोजित उम्मेदवार घोषणासभामा उनले सरकारले गरेका राम्रा कामको प्रचार गर्दै आम जनतामाझ पुग्नुपर्ने बताए ।

कास्की २ मा विगतमा हासिल गर्दै आएको जितलाई यस पटक पनि सुनिश्चित गर्न आम कार्यकर्ता एकताबद्ध हुनुपर्नेमा उनको जोड थियो । विकासप्रेमी नेता स्व रवीन्द्र अधिकारीका अधुरा सपना पूरा गर्न पार्टीले विद्या भट्टराईलाई निर्वाचनमा अगाडि बढाएको बताउँदै उनले मतको संरक्षणका लागि मतदाता शिक्षालाई प्रभावकारी बनाउनु पर्ने आवश्यकता औँल्याए ।

नेकपाका तर्फबाट नेकपा कास्की क्षेत्र नं २ का उम्मेदवार भट्टराईले जनताका अपेक्षा र विश्वासलाई कुनै पनि हालतमा डगमगाउन नदिने प्रतिवद्धता व्यक्त गरे । राजनीतिबाट विचलन नभइकन जनता र मुलुकको समृद्धिका लागि भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उनले स्व अधिकारीका अधुरा सपना पूरा गर्न आफ्नो उम्मेदवारी भएको स्पष्ट पारे ।

नेकपा गण्डकी प्रदेश अध्यक्ष एवं पूर्वमन्त्री हितराज पाण्डेले अधिकारीको निधनबाट पार्टी र मुलुकलाई अपूरणीय क्षति पुगेको बताउँदै पीडा र अभावलाई पूरा गर्न पार्टीको उम्मेदवारलाई विजयी बनाउन लाग्नुपर्नेमा जोड दिए ।

नेकपा केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज राजकाजी गुरुङले निर्वाचनमा जुट्न कार्यकर्तालाई आग्रह गरे । नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यसअघि जिल्ला पार्टी कार्यालयबाट जुलुससहित निस्केको ¥याली निर्वाचन कार्यालयमा पुगी उम्मेदवारी दर्तापश्चात् घोषणासभामा परिणत भएको थियो ।